काठमाडौंको स्वयम्भुमा दिनदहाडै गोली चल्यो

शर्मिला गुरुङ

काठमाडौं, २४ साउन  : काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा दिनदहाडै गोली चल्दा एक जना घाइते भएका छन । महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोलि लागेर लोप्साङ भनिने मिलन लामा घाइते भएका हुन् ।

राजधानीमा हुने चोरीका घटनामा संलग्न हुँदै आएका उनलाई नियन्त्रणमा लिने क्रममा गोलि चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले बताएका छन। लोप्साङको घुँडा मुनि २ ओटा गोली लागेको छ । उनलाई उपचारका लागि अहिले वीर अस्पताल भर्ना गरिएको एसएसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पछिल्लो समय उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षकी छोरीलाई ज्यान मार्दिन्छु भन्दै धम्की दिएका थिए । पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनको खोजी गरेको थियो ।

लोप्साङसँगै प्रहरीले अमृत तामाङ भन्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया