काठमाडौंमा जम्मा भएका दुई हजार ३७० विदेशी नागरिक घर फर्किए

admin

काठमाडौं, २३ चैत : कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् ।

पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौंसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् ।

काठमाडौंमा जम्मा भएका विदेशीलाई उनीहरुकै मुलुकले जहाज चार्टर्ड गरी लगेका हुन् । अहिले एक हजार ३७८ विदेशी नागरिक बोर्डको सम्पर्कमा आएका छन् । अन्य विदेशी कहाँ कति संख्यामा छन् भन्ने कुनैपनि निकायसँग विवरण नभएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले आजसम्म दुई हजार ३७० विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको बताए ।

देशका विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका एक हजार ७२१ जनालाई बोर्डले उद्धार गरी स्वदेश फर्कन सहजिकरण गरेको जानकारी दिए । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । नेपालमा कति संख्यामा पर्यटक रोकिएका छन् भन्ने अझै यकिन विवरण आइनसकेको बोर्डले जनाएको छ ।

अध्यागमन विभागको मार्च २१ सम्मको तथ्याङ्क हेर्दा दुई हजार ५०० विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये एक हजार २०० स्वदेश फर्केको रेकर्ड छ । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको छ । नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको बोर्डको अनुमान छ । अन्य विदेशी नागरिक कहाँ कुन अवस्थामा छन् अहिले नै भन्न नसकिने सरोकारवाला निकाय बताउछन् । नेपालमा करिब १० हजार विदेशी नागरिकले प्रवेशाज्ञा ९भीषा० थपेर बसेको बताइन्छ ।

कोभिड-१९ को जोखिम हुन नदिन सरकारले चैत ११ देखि २५ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा यहाँ रोकिएका विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको हो । सरकारले गत चैत ९ गतेदेखि वैशाख ३ गतेसम्म मुलुकमा भित्रने सबै अन्तरराष्ट्रिय वायु सेवा कम्पनीको उडान बन्द गरेको छ । आन्तरिक उडान पनि बन्द गरिएको छ ।

यो अवस्थामा नेपालका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका विदेशी पर्यटकलाई हवाई जहाजबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो । कतिपय विदेशीलाई सडकमार्ग भएर पनि ल्याइयो । पोखरा, चितवन, लुक्ला, मुस्ताङको जोमसोमलगायत गन्तव्यबाट पर्यटकलाई उद्धार गरिएको थियो । नेपालको आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीका जहाज मार्फत विदेशीको उद्धार गरिएको थियो ।

अन्तरराष्ट्रियतर्फ पनि निगमको वाइड बडी जहाजले अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिकलाई चार्टर्ड उडानमार्फत गन्तव्यमा लगेको थियो भने सबैभन्दा बढी कतार एयरवेजले विदेशी नागरिक बोकेको छ । उक्त कम्पनीको जहाजले युरोपेली मुलुक फ्रान्स, जर्मनीलगायत मुलुकका मात्र नभई तीन सयभन्दा बढी अमेरिकी नागरिकलाई पनि उनीहरुको देश पु¥याएको छ । पछिल्लो पटक हिजो चार देशले चार्टर्ड उडान गरी आफ्ना नागरिक लगे ।

लकडाउनको आज १३औँ दिनको अवधिमा दिनहुजसो अन्तरराष्ट्रिय चार्टड उडान भइरहेका छन् आज पनि अमेरिकाले अफ्ना ३०५ जना नागरिकलाई कतार एयरवेजको जहाज चार्टर्ड गरी स्वदेश लैजादैछ । नेपालमा रोकिएकामध्ये कतिपय विदेशीको प्रवेशाज्ञा अवधि सकिएको छ ।

त्यस्ता विदेशीसँग लकडाउनका कारण उनीहरुलाई घर फर्किन केही दिन ढिला भए कुनैपनि शुल्क नलिने सरकारले निर्णय गरेको थियो । तर पछिल्ला केही दिनको उडानमा घर फर्कने विदेशी नागरिकलाई अध्यागमनले ४५ अमेरिकीडलर जरिवाना लिएकोमा सम्बन्धित मुलुकका नागरिकले गुनासो गरेका छन् ।

हिजो मात्रै चेकरिपब्लिकनको नेपालस्थित वाणिज्यदूतले अतिरिक्त शुल्का लिएकोमा पर्यटन बोर्डसँग गुनासो गर्नुभएको बुझिएको छ । अध्यागमन विभागले भने लामो समयसम्म रहेका विदेशी नागरिकलाई प्रवेशाज्ञा दस्तुर मात्रै लिएको तर पेनाल्टी शूल्क नलिएको स्पष्ट पारेको छ ।

पर्यटकका प्रवेशाज्ञा सकिएमा एक दिन भए पनि १५ दिन भएपनि न्यूनतम ४५ डलर तिर्नुपर्ने प्राबधान रहेको विभागले उल्लेख गरेको छ । नेपालमा पर्यटकको हकमा बढीमा तीन महिनासम्मको भिषा अवधि हुन्छ । विदेशी नागरिकलाई ९० दिन, ६० दिन र ३० दिनको प्रवेशाज्ञा अवधि दिइन्छ ।

प्रतिक्रिया