काठमाडौंमा जुनै बेला भयावह स्थिति आउन सक्छः मन्त्री ढकाल

admin

काठमाडौं, साउन १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढेको बताएका छन्। मन्त्री ढकालले संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने बताएका हुन्। उनले यो अवस्थालाई मध्यनजर गरेर सबैले सचेत रहनुपर्ने जनाए। उनले उपत्यकामा संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको बताए।

‘बाहिरी जिल्लाबाट उपत्यका आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने र पिसिआर परीक्षणलाई बढाउने तयारी छ,’ मन्त्री ढकालले भने। उनले काठमाडौं जस्तो ठूलो जनघनत्व रहेको वस्तीमा संक्रमण सल्कियो भने त्यो नियन्त्रण बाहिर जाने बताए। उनी भन्छन्, ‘काठमाडौंमा आगोजसरी सल्कियो भने त्यो अरु गाउँमा वा सानो सहरमाभन्दा वि’स्फो’टक हुनसक्छ।’

उनले सरकारले दैनिक १८ हजार पिसिआर परीक्षण गर्नसक्ने दाबी गर्दै कम्तिमा ६ लाख व्यक्तिको परीक्षण गर्ने बताए। सरकारले लागू गरेका मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा पुगेको मन्त्री ढकाल बताउँछन्। लकडाउन खुकुलो भएपछि सर्वसाधारणको ‘मुभमेन्ट’ बढेको र संक्रमण देखिएका ठाउँबाट समेत सर्वसाधारण काठमाडौं आउँदा जोखिम बढेको उनको बुझाइ छ।

काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले बताए। ‘लकडाउन खुकुलो भएपछि प्रत्येक दिन संक्रमित ठाउँबाट मान्छेहरु आएको कुरा नाकामा परीक्षण गर्दा पुष्टि भएको छ’ उनले भने। उनले संक्रमण बढी देखिएका जिल्लाहरूलाई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्लास्तरीय लकडाउन कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिनुपर्ने बताए।

‘वीरगञ्जमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ शिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ। त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संक्रमण देखिएकाले काठमाडौंभित्र आउने सबैलाई होम क्वारेन्टाइन अथवा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गर्नुपर्छ,’ मन्त्री ढकालले भने।

प्रतिक्रिया