काठमाडौंमा भाडाको कोठाभन्दा सस्तो लज !

admin

काठमाडौं, पुस २१ : सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उहाँको बसाइ र सुताइ आरामदायी नै छ। श्रेष्ठकाअनुसार उनको बसाइ भोटेबहालको लजमै हो। डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ। खाना पनि लजमै सस्तोमा पाइन्छ। नुहाउन पानी पाइन्छ। शौचालय व्यवस्थित मिल्छ।

डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन। “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस्?”, श्रेष्ठको भनाइ छ। त्यसो त काठमाडौँका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा छ बेडको व्यवस्था हुन्छ।

छ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ। त्यसो त २०७२ सालको भूकम्पयता डेराकोठा लिन मिल्ने सस्ता खालका कोठा नै छैनन्। सहरभित्रका कतिपय डेरा बस्ने घरमा भएका कोठा डरलाग्दा छन्।

कतै भित्ता चर्किएका छन् भने कतै भुइँ धसिएका छन्। परिवार भएकाहरू यस्तैमा सुत्छन् भने परिवार नभएकाको रोजाइ लज हो। काठमाडौँको मध्य सहरमा फुटपाथमा व्यवसाय गर्नेहरू हुन् वा भरिया, प्रायःको रोजाइ यस्ता लज नै हुन थालेको छ भन्ने खबर गोरखापत्र दैनिकमा छ।

दोलखा नाम्दुबाट भारी बोक्न आएका सिद्धिचरण चोक न्युरोडका भरिया प्रकाश कार्कीका अनुसार लजका कोठामा मात्र होइन, छतमा सतरन्जा ओछ्याएर लहरै सुत्ने पनि निकै छन्। घरका छत रात परेपछि यस्तै विश्रामकर्ताले ओगट्छ र बिहान हुनासाथै छत खाली हुन्छ।

छतमा एक रात सुतेपछि सुत्नेले रातमा पचास रुपियाँ तिरे पुग्छ। यसरी सुत्नेहरू होटलमा खाने र सहरका सार्वजनिक शौचालयको उपयोग गर्ने गर्छन्। ओमबहालका एक घरधनीले खाली छतमा पैसा आउँछ भने किन नसुताउने भन्ने भएर आश्रयका लागि खुला छत भाडामा लगाएको बताए। छत भए पनि त्यसमा छानो हुन्छ, कोठा बारिएको वा झ्याल भने हुँदैन ।

जाडोमा एकआपसमा टाँसिएर सुत्छन्, गर्मीमा खुकुलोसँग सुत्छन्। लजमा आउनेलाई शौचालयको टन्टा नहुने, नुहाउन धुवाउन पानी पाइने तथा खान पकाउन नपर्ने भएकाले डेराभन्दा लजमा रात बिताउन मन पराउने गरेको लज सञ्चालकको भनाइ छ।

प्रतिक्रिया