काठमाडौंले ललितपुरलाई हरायो

admin

काठमाडौं, ९ असोज : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० प्रतियोगितामा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्‌घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ७ विकेटले पराजित गर्‍यो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। काठमाडौंको जितमा जिम्बावेका राय बर्लले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ७३ रन जोडे। उनले ३४ बलमा ३ चौका र ७ छक्का हिर्काए। राजु रिजालले नटआउट १९ रन जोडे।

ओपनर रहमानुल्लाह गुर्बाजले ५९ रन पनि काठमाडौंको जितमा महत्वपूर्ण सावित भयो। उनले ३६ बलमा ४ चौका र ४ छक्का हिर्काएका थिए। त्यसअघि काठमाडौंका सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा रनटआउट भएका थिए। काठमाडौं किंग्स ११ ले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साविक विजेता ललितपुर प्याट्रिओट्ले ८ विकेटको क्षतिमा १५७ रन जोडेको थियो।

त्यसअघि ललितपुरका लागि पवन सर्राफले ६१ रनको योगदान दिए। उनले ४४ बलमा ५ चौका र ४ छक्का हिर्काए। योगेन्द्रसिंह कार्कीले ३३ रन जोडे। बलिङमा काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। गुल्शन झा र जिम्बावेका रायन बर्लले २-२ विकेट हात पारे।

प्रतिक्रिया