काबुलमा भएको आत्मघाती आक्रमणमा ४३ जना मारिए

शर्मिला गुरुङ

काबुल, १० पुस (रासस/एएफपी) : अफगानिस्तानको राजधानी सहर काबुलस्थित एक सरकारी कार्यालयको परिसरमा सोमबार भएको आत्मघाती आक्रमण सहित गोली हानाहान हुँदा कम्तीमा ४३ जना मारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी काबुलमा भएको यो आक्रमण यस वर्ष भएका घातक आक्रमणमध्ये एक हो ।

उक्त आक्रमणको कुनै पनि विद्रोही समूहले मङ्गलबारसम्म जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा जारी युद्धबाट सरकारी फौज, सर्वसाधारण र लडाकू समेतका हजारौं व्यक्तिले ज्यान गुमाइरहेका छन् ।

सार्वजनिक निर्माण मन्त्रालयको परिसरमा भएको उक्त आक्रमणबाट अरु १० जना घाइते भएका छन् । मन्त्रालयका प्रवक्ता वाहीद मजरोहका अनुसार बन्दुकधारीहरु मन्त्रालयभित्र गोली चलाउँदै भित्र पसेका थिए । उनीहरुले मन्त्रालयको प्रवेशद्वारमा कार बम पनि विस्फोट गराएका थिए । आतङ्कित भएका सरकारी कर्मचारीहरुबीच आफ्नो ज्यान जोगाउन भागदौड मच्चिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार केही कर्मचारी ज्यान जोगाउन मन्त्रालयको माथिल्लो तलाका झ्यालबाट हाम फालेका थिए ।

घन्टौंसम्म अरु सयौं कर्मचारी मन्त्रालयभित्रै बन्धक बनाइएका थिए । सरकारी सुरक्षा फौज र लडाकू समूहबीच घन्टौसम्म गोली हानाहान भएको थियो ।

सरकारी फौजको कारबाहीमा आत्मघाती आक्रमणकारी समेत कम्तीमा चारजना लडाकू मारिएका थिए भने ३५० भन्दा बढी मानिसलाई मुक्त गरिएको थियो । अधिकारीहरुले मारिने र घाइते हुने अधिकांश व्यक्ति सर्वसाधारण नागरिक छन् ।

अफगानिस्तानमै गत महिना पनि एउटा धार्मिक कार्यक्रममा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५५ जना मारिएका थिए ।

राष्ट्रपति अस्ररफ घानीले युद्धभूमिमा पराजित भएपछि आफ्नो कमजोरी ढाकछोप गर्न निहत्था नागरिकमाथि आतङ्कवादी आक्रमण भएको बताउनुभएको छ । “उनीहरुले गरेका हरेक आक्रमण हाम्रा नागरिक विरुद्ध छ ।”
अफगानिस्तानको सर्बाधिक ठूलो लडाकू समूहले यसै वर्ष सबैभन्दा ठूलो इलाका आफ्नो नियन्त्रणमा पारेको छ । लडाकूकको आक्रमणबाट अहिलेसम्मकै ठूलो संख्यामा सैनिक मारिएका छन् ।

अफगानिस्तानको शान्ति सुरक्षामा सुधार ल्याउने उपायको खोजी गर्न अमेरिकी नेतृत्वमा वार्ताको पहल भइरहेको छ । अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तान सरकार, पाकिस्तान तथा विद्रोही तालिबान समेतका पक्षसँग वार्ता गरिरहनुभएको छ ।

प्रतिक्रिया