काभ्रेको उग्रचण्डी भगवती माईलाई पसिना,अनिष्टको संकेत

admin

काभ्रे: काभ्रेको नाला स्थित उग्रचण्डी भगवती माईलाई पसिना आएको छ । मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यका अनुसार आज बिहान पौने ७ बजे स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले मन्दिर परिसरभित्र महिना रोएको आवाज सुनेका थिए ।

त्यसपछि भगवती माईलाई पसिना आएको पुजारी कर्माचार्यले बताउनुभयो । देशमा कुनै अनिष्ट हुनु अघि पूर्व संकेतका रुपमा भगवती माईको सिलामा पसिना आउने गरेको किम्बतन्ती रहेको छ । भगवती माईको सिालमा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पुजा गर्ने बताइएको छ । त्यस्तै शनिबार नालाका स्थानीयले क्षमा पुजा गर्ने निर्णय भएको पुजारी कर्माचार्यले बताउनुभयो ।

यसअघि २०७१ साल कात्तिक १५ गते पनि भगवती माईलाई पसिना आएको थियो । त्यसको ६ महिना पछि २०७२ साल बैशाख १२ गते बिनाशकारी भुकम्प गएको थियो । त्यो बेला पसिना आएपछि क्षमा पुजा, भगवतीको जात्रा, होम र रथयात्रा गरिएको थियो ।

पुजारी कर्माचार्यका अनुसार १ सय ९४ वर्षअघि भगवती माईको सिलामा रगत र पसिना आएको थियो । त्यो बेला असिना र पानी परेर धेरैको ज्यान गएको बताइन्छ । नाला उग्रचण्डी भगवती माईको मन्दिरमा भदौ महिनामा लाग्ने इन्द्र जात्राको तीन दिनपछि र दसैको टिकाको दिन ठूलो जात्रा लाग्ने गरेको छ ।

प्रतिक्रिया