काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले कोरोना विरुद्धको खोप लगाए

admin

काभ्रे : काभ्रेमा पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज धुलिखेल अस्पातालमा कोभिडशिल्ड नामक खोप जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झालाई लगाएर सुरु गरिएको हो ।

डाक्टर झाका अनुसार सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र शव व्यवस्थापनका लागि खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाईकर्मी गरी २९३ जनालाई धुलिखेल अस्पतालमा खोप लगाइएको छ । पहिलोचरणमा धुलिखेल अस्पतालबाट धुलिखेल, पाँचखाल, बनेपा, मण्डनदेउपुर, पनौती नगरपालिका र खानीखोला गाउँपालिकामा कोभिड–१९ भाइरस नियन्त्रणमा खटिएका २९ सय १० जनालाई खोप दिने तयारी भएको छ ।

कोभिडशिल्ड खोप ४ दिनभित्रमा लगाइसक्ने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । दोस्रोचरणमा मेथिनकोट अस्पतालबाट नमोवुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकामा कारोना नियन्त्रणका लागि खटिएका ५ सय ६७ जनालाई आगामी माघ १६ गतेबाट खोप दिन शुरु गरिने भएको छ ।

जिल्लामा अहिले ३९० कोभिशिल्ड भाइल आएको छ । यसबाट ३९ सय जनालाई नै यो खोप लगाउन सकिने छ । खोप लगाएको ४ हप्तापछि फेरि लगाईसकिएका तिनै व्यक्तिहरुलाई दोहो¥याएर लगाउनु पर्नेछ ।

प्रतिक्रिया