काभ्रेमा नेकपा हटाएर एमालेको बोर्ड राखियो

admin

काभ्रे : काभ्रेमा पुनःस्थापित नेकपा एमालेले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको छ । सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेपछि देखिएको ‘साइड इफेक्ट’स्वरूप नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको हो ।

 

बनेपा नगरपालिका–५ मा यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय रहेको भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाइएको हो । ओली समूह काभ्रेका जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको नेतृत्वमा जिल्ला कमिटी सदस्य कञ्चन अधिकारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक बिक्रम चौलागाईं, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सागर रायमाझी, अनेरा स्ववियुका केन्द्रिय सदस्य शालिकराम पराजुली, विद्यार्थी नेता मिलन गौतम, सन्जिव न्यौपाने लगायतका नेता कार्यकर्ता भेला भएर पार्टी कार्यालयमा बोर्ड फेरिएको हो ।

बोर्डसँगै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पूर्व संचार तथा सुचना प्रविधि मन्त्रि एवं नेकपाका नेता गोकुल बाँस्कोटाको फोटो रहेको ब्यानर पनि राखिएको छ।

नेकपा एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो । सर्वोच्चको आइतबारको फैसलापछि पनि पुनः एमालेकै पार्टी कार्यालय बनाइएको हो ।

प्रतिक्रिया