काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको ज्यान गयाे, दुई जना घाइते

admin

काभ्रे : बिहीबार काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । पनौतीमा भएको एक्स्काभेटर दुर्घटनामा पनौती ७ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भएर हाल पनौती ७ बस्ने १५ वर्षीय रोशन भण्डारीको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएको छ ।

पनौती नगरपालिका-११, थुम्कीमा रहेकाे भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्क–ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा एक्स्काभेटर सडकबाट ३ सय मिटर तल सलान्दु खोलामा खसेको थियो । दुर्घटनामा एक्स्काभेटर चालक पनौती–७ बस्ने २७ वर्षीय जीवन ताम्राकारको टाउको, मुख र हातमा चोट लागेको र उनको धुलिखेल अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी प्रमुख रवि पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै रोशी गाउँपालिका-९, पानन्चेमा दूध बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । दूध बोकेको बा ५ च ५०७४ नम्बरको जीप दुर्घटनामा रोशी-९ का १२ वर्षीय अनिल रानामगरको ज्यान गएको हो । अनिलको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । रोशी-९ कै वर्ष ७५ की सतीकुमारी पीठाकोटे र चालक रोशी-६ का टंकमानको उपचार भइरहेको छ । त्यस्तै बीपी राजमार्गको नमोबुद्ध-२, सेल्फीडाँडामा टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ ।

धुलिखेलबाट भकुण्डेबेसी जाँदै गरेको वर्ल्डवाइड कन्स्ट्रक्सन प्रालि काठमाण्डाैकाे बा २ क ५ नम्बरको टिप्पर चालक आश्विन बिष्ट र विशाल खडकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ । ज्यान गुमाएका खड्का सडक विभाग, वर्ल्डवाइड कन्स्ट्रक्सन प्रालि काठमाण्डाैका सुपरभाइजरसमेत रहेका प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया