काभ्रेमा सरकारी, सार्वजनिक र गुठीको जग्गा अतिक्रमण तिब्र, नक्सा भेटाउनै मुस्किल

admin

काभ्रे: काभ्रेमा सरकारी, सार्वजनिक र गुठीको जग्गा मिचिने क्रम अझै नरोकिएको पाइएको छ । आज धुलिखेलमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले गरेको कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

धेरै जसो स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक जग्गाको नक्सा समेत भेटाउन मुस्किल परेको बताएका थिए । मण्डनदेउपुर नगरापालिकाका प्रमुख टोक बहादुर वाइबाले सामुदायिक वन र खोला आसपासको जग्गा निकै अतिक्रमण भइरहेको बताउनुभयो । चौरीदेउराली गाउँपालिकाका प्रमुख दिननाथ गौतमले सार्वजनिक जग्गा ब्यक्तिको नाममा दर्ता हुने प्रक्रिया अझै नरोकिएको भन्दै फिर्ता गर्न निकै मुस्किल परेको बताउनुभयो ।

उहाँका अनुसार सार्वजनिक जग्गाहरुको अहिले पनि बेचबिखन भइरहेका छन् । भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरले भूकम्पछि सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम ह्वात्तै बढेको बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । तर काभ्रेका स्थानीयहरुले यस्ता जग्गा जोगाउन सकेका छैनन । कुन ठाउँमा सरकारी र सार्वजनिक जग्गा छ भन्ने समेत आकंलन गर्न मुस्किल परिरहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया