कारबाहीले समस्या समाधान हुँदैन, पार्टी एकताको रक्षा गरौँ : गोकर्ण विष्ट

admin

काठमाडौं, ७ बैशाख : नेकपा एमालेका नेता गोकर्ण विष्टले कारबाहीले पार्टीको समस्या समाधान नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार थप ३२ जना नेतालाई चेतावनीसहितको स्पष्टीकरण सोधेपछि नेता विष्टले पार्टीको विवाद कारबाहीले समाधान नगर्ने भन्दै सबै आधिकारिक कमिटी बिउँताउन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता विष्टले भनेका छन्, ‘विगत केही समययता नेकपा एमालेमा देखापरेका समस्याहरूको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र विना कारण सांसदहरूमाथि कारबाहीका घटनाहरू अघि बढाइएको छ । यस्ता कारबाहीका शृङ्खलाहरूले पार्टी एकतामा गम्भीर सङ्कट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरू बिउँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौँ ।’

नेता विष्टले सर्वोच्च अदालतको फैसलाअनुसार एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिने बताएका छन् । उनले एउटा इमानदार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथि हुनेमा जोड दिएका छन् ।

प्रतिक्रिया