कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने

admin

धनुषा, साउन २३: राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो। अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडाँैं आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

तत्कालीन ब्रिटिस इन्डियाले नेपालको जङ्गलबाट काठ ओसार्नका लागि विसं १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो। काठ ओसार्नका लागि सञ्चालनमा ल्याइएको सो रेलसेवाले २०१८ सालदेखि यात्रुवाहक सेवा दिन थालेको हो। कोइला र पानीबाट सञ्चालन हुँदै आएको सो रेलसेवा २०५१ सालमा भारतले सहयोग स्वरूप उपलब्ध गराएपछि डिजेल इन्जिनका रूपमा सञ्चालनमा आएको थियो। जयनगरदेखि बिजुलपुरासम्मको दूरी ५२ किलोमिटर छ।

रेलसेवा निर्धारित समयमै
यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताए। उनले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको जानकारीसमेत दिए। यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ। जनकपुर–जयनगर रेलमार्गको निरीक्षणका क्रममा उनले जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताए। मन्त्री महासेठले ट्रलीमा चढेर जनकपुरदेखि इनर्वासम्म २६ किलोमिटर रेलवे लिकको मङ्गलबार निरीक्षण गरे।

उनले सो रेलमार्गअन्तर्गत नेपालतर्फको अन्तिम स्टेसनका रूपमा रहेको इनर्वाको नजिकमा बाढीले बगाएको रेलवे लिकको निरीक्षण गरे। गत असार अन्तिममा आएको बाढीले सो लिकमा क्षति पुर्‍याएको थियो। निरीक्षणका क्रममा उनले रेलवे लिकको बेस बगाएको ठाउँमा चाँडै नै मर्मतसम्भार गरी निर्धारित समयमा नै रेलसेवा सञ्चालनमा आउने गरी काम अगाडि बढाउन रेल विभागलाई निर्देशन दिए। बाढीले रेलवे लिकको बेस बगाए पनि निर्धारित समयमा नै रेल सञ्चालनमा कुनै समस्या नहुने उनले स्पष्ट पारे। सो ठाउँमा बाढीले एक सय मिटर रेलवे लिकको बेस बगाएको छ।

मुलुकको पहिलो ‘ब्रोडगेज’
रेलसेवा मुलुकको छोटो रेलवे इतिहासमा यो रेलसेवा ‘ब्रोडगेज’ हुनेछ। यसअघि नेपालमा सञ्चालन भएका रेलसेवाहरू ‘न्यारोगेज’मात्र रहेको थियो। दुई फिट छ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, एक मिटर चौडाइ भएको लिकलाई ‘मिटरगेज’ र पाँच फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ। जनकपुर–जयनगर रेलवे लिकको चौडाइ ‘ब्रोडगेज’ आकारको रहेको छ।

आठवटा स्टेसन
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेसन र छ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले जनाएको छ। जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन तोकिएको छ। त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ।

प्रतिक्रिया