कालाकार केसी (राता मकै) उपभोक्ता अधिकार सद्भावनादूतका रुपमा नियुक्त

राष्ट्रिय समाचार समिति

काठमाडौं, २ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड-१९) को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मूल समारोह समितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महङ्गी र कालोबजारी बारे सम्बन्धित निकायले अनुगमन गरेर दोषीउपर कारवाही गर्ने बताए ।

उनले भने, “अहिले कोरोना भाइरसको त्रास देखाएर बजारमा अखाद्य वस्तुको बिक्री वितरण गर्ने, मूल्य बढाएको जस्ता समाचार आइरहेको छ, यसबारेमा सरकारले अनुगमन त गर्छ नै तर उपभोक्ता स्वयं आफैँ पनि सचेत हुन जरुरी छ ।”

विभिन्न देशमा कोरोना भाइरस फैलिएको अवस्थामा नेपालीहरु एकआपसमा एकले अर्कोलाई आरोप-प्रत्यारोप गर्नेभन्दा पनि त्यसका विरुद्धमा एकजुट भएर लाग्नुपर्ने मन्त्री भट्टको भनाइ छ ।

“सबैले आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गर्ने हो भने सरकारले बजार अनुगमन नै गर्नुपर्दैन, मेरो आग्रह छ, सबै बिक्रेता, उपभोक्ता, उत्पादक कम्पनीले आफ्नो भूमिका इमानदारीपूर्वक पूरा गर्नुहोस् ।”

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले कोरोना भाइरसको त्रासका कारण सबै क्षेत्र संवेदनशील बनिरहेको अवस्थामा सरकारले कालोबजारी र महङ्गीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका चार अधिकार सुरक्षा, सूचना, छनोट र सुनुवाइ हुने भनी घोषणा गरेका थिए ।

यिनै उपभोक्ता अधिकारका आधारमा अन्य चार वटा अधिकार उपभोक्ता शिक्षा, क्षतिपूर्ति, पहुँच, स्वच्छ र स्वास्थ्य वातावरणको अधिकार थप गरी सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट उपभोक्ता संरक्षणसम्बन्धी अनुबन्ध पारित भएको थियो ।

त्यसपछि मात्रै प्रत्येक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रुपमा मनाइँदै आएको छ । दिवसको यस वर्षको नारा ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ रहेको छ ।

सोही अवसरमा विभागका महानिर्देशक नेत्र सुवेदीले सम्बन्धित निकायको समन्वयमा विभागले बजार अनुगमनलाई प्रभावकारी बनाउने बताए ।

विभागले दिवसका अवसरमा उपभोक्ता अधिकारका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्था, सञ्चारकर्मी र अधिकारकर्मीलाई सम्मान गरेको छ ।

त्यसैगरी, कालाकार किरणकुमार केशी (राता मकै)लाई उपभोक्ता अधिकार सद्भावनादूतका रुपमा नियुक्त गरेको छ ।

विभागबाट र अन्य सरोकारवालाबाट सञ्चालन गरिएका र गर्ने सचेतनामूलक कार्यक्रममा सहभागी जनाई आफ्नो हकअधिकारका बारेमा सुसूचित र सचेत हुन आग्रहसमेत गरिएको छ ।

प्रतिक्रिया