कालापानी र लिपुलेक मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गर्ने

मनिषा थापा

काठमाडौँ : आगामी शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउ गर्ने ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाले जनाएको छ । ग्रेटर नेपालका माेर्चाका संयाेजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाह प्रवृति र नेपाल सरकारकाे लाचारीपन भएको बताए । मोर्चाले शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउन गर्ने भएको हो ।

भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको छ । जसमा नेपालको विशाल भूमि भारतले आफ्नो नक्सा राखेको हो । गत ०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नाकाबन्दी गरी सम्बन्ध बिगारेको भारतले पुन: ओली सरकारकै पालामा नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको हो । जसले पछिल्लो समय नेपाल र भारतबीच सुधारिएको सम्बन्ध के हुने भन्ने प्रश्न उब्जाएको छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । सोही कालीनदी नै नेपाल–भारतको सिमाना हो । तर भारतले पटक-पटक त्यस क्षेत्रलाई आफ्नो देशमा पार्नका लागि कोशिस गर्दै आएको छ । अघिल्लो वर्ष पनि सोही भूमिलाई आधार बनाएर भारत र चीनले मुख्य नाका खाेल्ने काेशिस गरेका थिए । उक्त समयमा पनि नेपालमा विवाद भएको थियो । नेपालमा विवादपछि भारतले साे कुरालाई सच्याएको थियो । तर भारतले उक्त क्षेत्रमा तीन सय ७२ वर्गकिलोमिटर नेपाली भूमि मिचेको छ ।

नेपाल र भारतको सिमाना हुने विवादमा नेपाल सरकारले कुनै चासाे नदेखाएकाले पनि भारतले अतिक्रमको नीति लिएको विज्ञहरुले जनाएको छ । त्यसो त भारतको यो अतिक्रमणलाई छिमेकी चीनले पनि औपचारिक रूपमै साथ दिएको छ । सोही अनुसार नेपाललाई जानकारी नदिई लिपुलेक भञ्ज्याङबाट व्यापार गर्न चीन र भारतले चार वर्षअघि नै सम्झौता गरेका थिए ।

नेपालको भूमि मिचेर सार्वजनिक गरेकोमा भारतीय नक्सामा अरु देशहरु पनि समावेश गरिएको छ । जसलाई पाकिस्तानले भारतको यो हर्कतको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएको छ । यसै गरी नेपालका राप्रपासहित विभिन्न दलले विरोध जनाउँदै आएको छ ।

यसै बीच प्रतिपक्षदल नेपाली काँग्रेसको भात्रृसंगठन नेबिसंघले बुधबार साँझ पाँच बजे काठमाडौंको माइतीघर मण्डलामा भारतको नयाँ नक्साको विरोधमा प्रदर्शन गर्न लागेको छ ।नेविसंघले भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र राष्ट्रवादी सरकारको धारणा माग गरेर प्रदर्शन गर्न लागेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया