कालोबजारी गर्ने व्यापारीबाट खोसिएको प्याज सरकारले बेच्‍ने

admin

काठमाण्डाै : सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न ठाउँका व्यापारीबाट जफत गरेको झण्डै १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो ।

मङ्गलबार काठमाण्डाैका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले जफत गरिएकाे प्याज बुधबारदेखि बिक्री गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै बिक्री गर्न लागिएको बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मङ्गलबार मात्रै निर्णय भएकाले प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारदेखि बिक्री वितरणको काम सुरु हुने बताउनुभयो ।

जफत गरिएकाे प्याज ढुवानी, लागत र प्याकेजिङसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत उहाँले बताउनुभयो ।

गएकाे हप्तादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । बजारमा प्याजको भाउ अत्यधिक बढेपछि सरकारले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो ।

त्यस क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुई वटा पसल सिल गरिएको थियो ।

त्यही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो । प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ ।

प्रतिक्रिया