काल जस्तै भयो, नेपालको लकडाउन !

अस्मिता बेल्बासे
  • शेखर जंग रायमाझी
    पुनरुत्थानवादी शक्ति नेपाल (संयोजक)

काठमाडौं, सप्तरीका मलर सदा खान नपाएर मरे, यस्तै देशभरबाट ठाउँ-ठाउँमा खान नपाएर मरेको, असह्य पिडामा परेको, उपचार नपाएको, डिप्रेसन हुन थालेको र आ’त्म’ह’त्या बढेको समाचार हरेक पत्रपत्रिकाहरुमा छ्यास्छ्यास्ती आइरहेका छन् ।

मुलुकमा लकडाउन गरिएको पनि अढाई महिना नाघ्दै छ । सरकारले विश्व स्वास्थ्य संगठनले सुझाएको अनुसार लकडाउन गर्यो तर के लकडाउन गरेपछि गर्नु पर्ने परिक्षण, ट्रेसिङ्ग, ट्र्याकिङ्ग, क्वारेन्टाइनको व्यवस्था, इक्विपमेन्ट, मेडिसिन र खाद्यान्नको पहुँच आदि क्षेत्रमा के कस्तो गर्यो यस्को लेखाजोखा गर्दा ज्यादै निरासाजनक स्थिति छ ।

लकडाउनले सबै क्षेत्र र तप्कालाई असर नगरेको होइन तर बिपन्न, गरिब, निम्न आय र दैनिक ज्यालादारीकालागि काल जस्तै भएर आएको सर्वविदितै छ र अब अढाई महिना पछि मध्यमवर्ग पनि भोकको चपेटामा गाँजिदै छन् र उनिहरुको चुल्हो बन्द हुने अवस्थामा पुगेको छ ।

यो अवस्थामा सत्ताको ध्यान कता छ ? सरकार केकालागि ? र यो भन्दा लाजमर्दो के हुन्छ भन्ने यक्ष प्रश्न तपाई हामी सामु खडा भएको छ । लकडाउन पछिको व्यवस्थापन र स्वास्थ्य परीक्षणमा भएको लापरवाही र भ्रष्टाचार जगजाहेरै छ ।

अझ क्वारेन्टाइनको अव्यवस्था, अस्तव्यस्तताका अराजकता र स्तरहिनताका समाचार आइरहेका नै छन् । आर्थिक अभावले किसान, सानाठूला व्यवसायी उधोगी समेत सबै आतङ्कित भइरहेका छन् । अर्थमन्त्री जेष्ठ मसात सम्म लकडाउन लगाउदै हावादारी बजेट ल्याएर करको ताकेतामा छन् ।

वास्तविकतामा मुलुकको आम्दानी घटेको, बाह्य ऋण र सहयोग प्रयाप्त नपाउने अवस्था श्रृजना भएको र संवैधानिक व्यवस्था नै अचाक्लि खर्चिलो भएको, वैदेशिक र आन्तरिक रोजगारीमा ठुलो ह्रास, उत्पादन शुन्य, निर्यात शुन्य बराबर र खाद्यान्न समेत आयात गर्नु पर्ने भइ उच्च व्यापार घाटा छ ।

पुँजीगत खर्च कार्यान्वयन बजेटको निरास पक्ष छ भने त्यसमा पनि नितिगत र संस्थागत अपचलनको जरा गहिरो छ । साधारण खर्च नै मुलुककोलागि विशाल खाडल भएपछि, यो महारोग र महाभोक सरकार र राज्यको बुता बाहिर छ, यसर्थ यो महासंकट एउटा दल, राज्य, सरकारको मात्र नभइ सम्पूर्ण नेपालीहरुको पनि भएको हुनाले अब सत्ताले यो असैह्य बोझिलो संविधान निलम्बित गर्दै बृहत राष्ट्रिय एकताको पहल ढिलो भैसकेको छ ।

यो विकराल परिस्थितिको संवेदनशीलतालाई नबुझ्ने हो भने अब मुलुकमा असन्तुष्टि, लुटपाट, डकैती, अराजकता र असंगठित विद्रोह जस्ता असामाजिक गतिविधि देखापर्नेछन र मुलुक असफलताको दुस्चक्रमा फस्नेछ ।

हामी देशभक्त राष्ट्रवादी शक्ति र सम्पुर्ण नेपाली नागरिक मुलुकको यो बिषम परिस्थितिमा सबै मनोमालिन्य त्याग्दै देशवासीको बृहत्तर हितको लागि सहकार्य र सहयोगको लागि तयार छौ ।

हरेक संकटको चुनौतीको सामना गर्दै, संकटलाई शक्तिमा बदल्दै आगामी भविष्य र समाज निषेध र विभेद रहित र सुरक्षित बनाउँने तपाई हामी सबैको कर्तव्य हो । सबैमा चेतना भया !

प्रतिक्रिया