किन नेतालाई भोट नदिने अभियान चलाउँदै छन्, वामदेव गौतम ?

admin

काठमाडौं, २० फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड-माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोना भाइरसविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन् ।

एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ । नेकपाको दुवै समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उनले बताए ।

उनले भने, ‘धेरै ठाउँमा भएका सभामा उहाँहरूले बोलेको सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन । मेरो चाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेण्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेण्ड जेनेरेशनका कमरेडहरूलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पङ्क्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौँ र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।’

नेता गौतमले केपी र प्रचण्डबीच अरूले एकता गर्दैमा त्यो एकता नहुने बताए । ‘नागरिकले मान्दैन, विश्वले पनि मान्दैन । दुइटालाई एकताबद्ध गरेपछि फेरि या पार्टी एकताबद्ध भयो भन्ने हुन्छ । तर उहाँहरूलाई त्यो एकतामा ल्याउनका लागि उहाँहरूको वरिपरि बसेकाहरूलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली नागरिकको शक्ति, कम्युनिस्ट आन्दोलनप्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर उहाँहरूलाई एकताबद्ध गराउने पक्षमा म छु’, उनले भने ।

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पारे । पार्टी एकताका लागि आह्वान गर्ने नेताको पक्षमा आफू उभिनसक्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया