संग्रहालय बनाउनका लागि महाकवि देवकोटाको घर भत्काइयो

admin

काठमाडौं, २१ साउन : मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।

संग्रहालय बनाउनका निम्ति देवकोटाको घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिएकी छिन् । महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो ।

देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ । १२ आना क्षेत्रफलमा ११ करोड ३३ लाख रुपैयाँको लागतमा सरकारले चारतल्ले संग्रहालय बनाउने भएको छ । ‘‘सङ्ग्रहालय परिसरको अग्रभागमा देवकोटाको पूर्ण कदको सालिक रहने छ । कवि गोष्ठी गर्न र नाटक मञ्चन गर्ने मिल्ने गरी एउटा डबलीसमेत निर्माण गरिने जनाइएको छ ।

प्रतीक्षालय र श्रव्यदृश्य कक्षसमेत निर्माण गरिने सो परिसरमा सुन्दर बगैँचासमेत बन्ने छ । सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामग्री, दोस्रो तल्लामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने भएको छ। भवनको तेस्रो तल्लामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिने छ ।

प्रतिक्रिया