किसानका नेताले अब नमूना किसान बन्नुपर्छ : मन्त्री ज्वाला

राष्ट्रिय समाचार समिति

सुर्खेत, ४ कात्तिक : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले किसानका नेताले अब नमूना किसान बन्नुपर्नेमा जोड दिनुभएको छ । अखिल नेपाल किसान महासङ्घ, प्रदेश समन्वय कमिटीको प्रथम बैठकलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले आधुनिक र व्यावसायिक उत्पादनबिना किसानको नेता मान्न नसकिने बताउनुभयो ।

मन्त्री ज्वालाले किसान महासङ्घमा आवद्ध केन्द्रीयदेखि स्थानीयसम्मका नेताले कुनै न कुनै कृषि उत्पादनमा आफूलाई अब्बल बनाउनुपर्ने र महासङ्घले यसलाई साङ्गठनिक अभियानकै रुपमा विस्तार गर्नुपर्ने बताउनुभयो । “किसानको नेता हुने तर गाउँमा खेती नगर्ने, शहरबजारमै बसेर राजनीति गर्नेलाई किसान महासङ्घको सदस्यता नदिऔँं, तवमात्र मुुलुकले कृषि क्षेत्रमा फड्को मार्न सक्छ,” उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह–इञ्चार्जसमेत रहनुभएका मन्त्री ज्वालाले एकता प्रक्रिया गाउँ–गाउँसम्म पुगेकाले अब छिट्टै टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि क्षेत्रमा बिचौलियाको खेल बन्द गर्ने बताउनुभयो ।

“अनुदान पाउनकै लागि रातारात फर्म दर्ता गर्ने, समूह÷सहकारी दर्ता गर्ने चलन बढेको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले यस्तो प्रवृत्तिलाई निरुत्साहित पार्न सिधैँ किसानको घरमा अनुदान प्रदान गर्ने रणनीति लिएको छ, मन्त्रीको नाम बेचेर अनुदान दुरुपयोग गर्नेविरुद्ध मन्त्रालयले कडाइ गर्दैछ ।”

बैठकमा अखिल नेपाल किसान महासङ्घका संयोजक एवं पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीले सङ्घीय सरकारले ल्याउन लागेको भूमिसम्बन्धी ऐनलाई सच्याउनुपर्ने बताउनुभयो । भूमिमा निजी स्वामित्व राख्न नहुने भन्दै उहाँले भोगाधिकारलाई आधार बनाउन ऐन ल्याउन सरकारलाई सुझाव दिनुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुनिल मानन्धर, महासङ्घका सह–संयोजक चित्रबहादुर श्रेष्ठ, महासङ्घका सङ्गठन विभाग प्रमुख नहेन्द्र खड्काले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया