कुरिलो किलोकै ५ हजार

admin

काठमाडौं, १५ मंसिर : कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ पुगेको छ । मागमा भएको अत्यधिक वृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य लिन थालेका छन् ।

‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘बजारमा पाइने कुरिलो काठमाडौंभित्रको हो । थोरै आउँछ, एकैछिनमा बिक्री हुन्छ ।’

समितिको तथ्यांकअनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैयाँ (होलसेल मूल्य) थियो । असारमा प्रतिकिलो २ सय ४० देखि २ सय ६० रुपैयाँमा पाइन्थ्यो । साउनमा प्रतिकिलो २ सय ४० देखि ५ सय र भदौमा ३ सय ५० देखि ५ सय रुपैयाँ बजार भाउ थियो ।

यस्तै असोज १ देखि १२ गतेसम्म न्यूनतम मूल्य ४ सय ४० रुपैयाँदेखि ४ सय ५० सम्म रहेको समितिको तथ्यांक छ । समितिले कात्तिक ६ गते निर्धारण गरेको मूल्य भने प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँ छ । त्यसपछि मूल्य अपडेट गरिएको छैन । खुद्रा बजारमा दोब्बरभन्दा बढीमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् ।

ढुंगाना एग्रिकल्चर फार्मका सञ्चालक समर्थन ढुंगानाले बजारमा अभावकै कारण बढी मूल्य परेको जानकारी दिए । ‘कुरिलोमा औषधिको मात्रा बढी हुन्छ । बिरामी, सुत्केरीलाई खुवाउन भन्दै किन्ने बढी छन्,’ उनले भने, ‘यो बेला अफ सिजन भएकाले किलोकै ५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

कोरोनाका बिरामीलाई खुवाउन प्रयोग गरिएकाले पछिल्लो महिना कुरिलोको माग बढ्दो छ तर व्यावसायिक खेती छैन । व्यावसायिक खेती नहुँदा मागअनुसार उत्पादन हुन सकेको छैन । समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार कुरिलो मुख्यतः वैशाख, जेठदेखि असारसम्म बजारमा आउँछ । कालीमाटीभित्र स्थानीय किसानले मात्रै ल्याउँछन् । कतिपय किसानले सिधै डिपार्टमेन्ट स्टोरमा पठाउँछन् ।

राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार मुलुकभर १ सय ५७ हेक्टरमा कुरिलो खेती गरिन्छ । उक्त क्षेत्रफलमा १ हजार १ सय ६६ टन उत्पादन हुन्छ । मोरङ, खोटाङ, झापा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, कास्की, पर्वत, नवलपुर, चितवन, दाङ, प्यूठान, जाजरकोटमा सबैभन्दा बढी उत्पादन हुन्छ । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मतीमा ८ सय ७९ टन उत्पादन भइरहेको केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यले जानकारी दिए ।

‘वाग्मतीमा ७४ हेक्टरमा खेती हुन्छ, उपत्यका भएकाले उत्पादन र माग यही क्षेत्रमा छ,’ उनले भने । प्रदेश १ मा ५८ हेक्टरमा १ सय ७६ टन उत्पादन भइरहेको केन्द्रले जनाएको छ । गण्डकीमा १३ हेक्टरमा गरिएको खेतीबाट ५७ टन उत्पादन हुन्छ ।

प्रदेश ५ मा ११ हेक्टरमा खेती हुन्छ, त्यहाँ ५० टन उत्पादन हुने गरेको छ । कर्णालीमा २ हेक्टरमा ४ टन उत्पादन भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । केन्द्रका अनुसार प्रदेश २ र सुदूरपश्चिममा भने कुरिलो खेती भएको छैन । राजु चाैधरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया