कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ

admin

फिदिम, २ असार : पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन् । उनको सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा मंगलबार रिपोर्ट आएको सुवेदीले बताए ।

कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टिनमा राखिएका अन्य तीन जनामा भने कोरोना संक्रमण नदेखिएको सुवेदीले बताए ।

पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

संक्रमण पुष्टि भएकी ती युवतीलाई कोशी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए । पाँचथरमा जिल्लाभित्रै पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएको हो ।

प्रतिक्रिया