केपी ओलीको फिल्म फ्लप भयो, तित्राजस्तो कराउनुभन्दा भ्रष्टाचारीलाई कारबाही गर्नुहोस : चन्द्र भण्डारी

शर्मिला गुरुङ

काठमाडौं, १४ भदौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयताको बुझाईमा संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको गुनासो पोखेका छन् । उनले भने,‘संघीयताको बारेमा हामीहरुबीच एकरुपता भएको छैन् ।’


शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले अझैपनि शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोखे । उनले भने,‘अहिलेपनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावनाअनुसार अघि बढेका छैनन्, संघीयता कार्यान्वयन गर्नेतर्फ कानुन तथा विद्येयकहरु पेश भएका छैनन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधान र मुलुकको व्यवस्था नयाँ भएपनि काम गर्ने शैली पूरानै भएको र ऐन, कानून र विद्येयकहरु नयाँ आउन नसकेको टिप्पणी गरे । उनले भने,‘हाम्रो व्यवस्था सर्वोत्कृष्ट छ । तर, संविधान कार्यान्वयनमा समस्या छ ।’ शर्माले केन्द्रका मन्त्रालयहरुले संघीयता कार्यान्वयन गर्नेगरि उपयुक्त कानून तथा ऐन बनाउन समस्या रहेको कुरा पटक–पटक सुनाए ।

शर्माले वर्तमान सरकार असफल नभएको जिकिर गरे । उनले भने,‘यो सरकारले सर्बोत्कृष्ट काम गर्छ । हामीले नसके भोलि कांग्रेस र राजपाका साथीहरु सरकारमा आउने हो । दलीय प्रणालीमा यो नौलो कुरा होईन् ।’ उनले केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिनको लागि हिचकिचाएको पनि आरोप लगाए ।

उनले भने,‘संघका मन्त्रीहरुले तल अधिकार दिनको लागि अहिले हिचकिचाउने काम गर्नुभएको छ। तल अधिकार दिनको लागि कन्जुस्याँई गर्नुहुँदैन् । अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नुहुँदैन । यसरी कसरी देश समृद्ध हुन्छ ?’ उनले आफूहरुले संघीयताविरोधी विद्येयकहरु नल्याउनको लागि संघका मन्त्रीहरुलाई निर्देशन दिएको सुनाए । उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको सुनाए ।

पूर्वमन्त्री समेत रहेका शर्माले व्यवस्था र संविधानको विरोध गर्न नपाईने जिकिर गरे । उनले भने,‘सरकारको कामकारबाहीलाई विरोध गर्न पाईन्छ, आलोचना गर्न पाईन्छ । तर, व्यवस्थाको विरोध गर्न पाईँदैन् ।’ शर्माले देशमा पछिल्लो समय समाजलाई विकृत बनाउनको लागि केही परिवर्तनविरोधी शक्तिबाट गलत कामहरु भैरहेकोतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘गौहत्या जो अहिले भएको छ, यसमा हाम्रो दुःख छ ।’ उनले दलहरुबीच राष्ट्रिय एजेण्डामा सहमति हुनुपर्ने धारणा राखे ।

उनले मधेशको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ । यसको लागि संविधानलाई परिस्कृत गर्नुपर्छ ।’ शर्माले मिडिया काउन्सिल विद्येयक पनि आफुहरुले व्यापक सुधार गरेर ल्याएको सुनाए । उनले भने,‘हामीले यसमा प्रशस्त संशोधन गरेका छौं । यसलाई समृद्ध बनाएका छौं । यो विद्येयक सबैको सहमतिमा आएको छ ।’

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पछिल्लो समय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमाथि समस्या आएको सुनाए । उनले भने,‘मुलुकमा छिटो–छिटो परिवर्तन भएको छ । अहिले राजा आउ, देश बचाउ भनेको पनि सुनियो। यसलाई अन्यथा लिनुहुँदैन्।’मुलुकमा संघीयता आएको भएपनि आएकै दिनदेखि यो व्यवस्थाको विरोध गर्नेहरु आजपनि सक्रिय रहेको उनको भनाई छ । संघीयता कार्यान्वयन हुन नसके मुलुक फेरि जोखिममा पर्ने कर्णले खतरा औंल्याए । यद्धपी उनले संघीयता परिवर्तनशील विषय भएको पनि सुनाए ।

तर, संघीयतालाई सुरुवातमै लंगडो बनाईएको उनको गुनासो छ । उनले भने,‘सिद्धान्ततः संघीयता धेरै राम्रो छ । तर, हामीले संविधानमा लेखेका कुरापनि पालना गरेनौं । अहिले प्रहरी पोशाकपनि केन्द्रबाट नै बनाउने भनिएको छ । यो भनेको ठूलो कमिशनको खेल हो । अहिलेपनि जनप्रतिनिधिहरुले काम गर्न नसकेको गुनासो छ ।’

मुलुकमा भ्रष्टाचार मौलाएकोप्रति आपत्ति जनाउँदै उनले सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने माग गरे । उनले भने,‘अख्तियारले अहिले गाउँपालिकाका साना तिना भुरा माछाहरु समातेको छ । अहिलेसम्म संघका एक जना मन्त्री पनि समात्न सकेको छैन् । ठूला माछा समात्यो भने आफ्नै जागिर जान्छ भन्ने डर अख्तियारका मान्छेलाई परेको छ ।’ कर्णले मुलुकको व्यवस्था नै अहिले डामाडोल भैरहेकोप्रति गुनासो पोखे । उनले भने,‘अहिले देशमा राष्ट्रिय नेता नै कोही छैन् । नेताहरुले आफ्नो क्षेत्रको मात्रै चिन्ता गर्छन् ।’ उनलेपनि दलहरु राष्ट्रिय मुद्दामा मिल्नुको विकल्प नभएको सुझाए । उनले भने,‘अहिले हामी धेरै पछि परिसक्यौं । जनताबाट आलोचनाको शिकार बनेका छौं । अब सोच्ने बेला आएको छ ।’

उनले आफ्नो पार्टीले यो वर्षको संविधान दिवसलाई पनि कालो दिवसको रुपमा मनाउने जानकारी दिए । उनले भने,‘हामीले अहिलेसम्म संविधान दिवस मनाएका छैनौं । सुरुदेखि नै कालो दिवसको रुपमा मनाएका छौं ।’ उनले समाजवादी पार्टीसँग एकताको लागि यसअघि नै प्रस्ताव गैसकेको सुनाए । उनले पार्टी एकता हुनु राम्रो कुरा भएको सुनाउँदै मिल्नुभन्दा अगाडि धेरै छलफल गर्नुपर्ने बताए । उनले भने,‘अहिले एकता गरेर पछाडि पछुताउने काम गर्नुहुँदैन् ।’ उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि पार्टी एकता गरेकोमा पछुताएको सुनाउँदै एकतापूर्व धेरै पटक सोच्नुपर्ने बताए । उनले भने,‘पार्टी एकताअघि हामीबीच ठोस रुपमा र सशक्त छलफल हुनुपर्छ ।’

कर्णले गौहत्या भएको विषयमा सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘यो विषयमा सरकारले जिम्मा लिनुपर्छ । घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्नुपर्छ ।’ त्यस्तै, उनले देशभरिका सरकारी अस्पतालहरु अस्तव्यस्त रहेको सुनाउँदै अस्पताल सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने,‘मन्त्रीज्यू, यहीँ हुनुहुन्छ, तपाईले औषधी र सरसफाईमा ध्यान दिनुहोस । सरकारी अस्पतालको हालत खराब छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको सुनाए । उनले भने,‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।’ समाजलाई भड्काउनको लागि होली–वाईन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे । भण्डारीले भने,‘बुद्धको मुर्ती तोडफोडको घट्ना भयो । नेपालमा के हुँदैछ ? होली वाईन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाईयो । अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरेपनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।’

अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता छ । उनले भने,‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं । ९, १० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ ।’
विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उनको आरोप छ । उनले भने,‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ । नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ ।’ आफूहरुले प्रणालीलाई चलाउन नजानेको उनको टिप्पणी छ ।

नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यैपनि असफल नहुने तर्क गरे । उनले भने,‘हाम्रा थुप्रै कमिकमजोरीहरु छन् । यस्तो पाराले त जुनसुकै बेला दुर्घट्ना हुनसक्छ ।’ उनले देशमा पछिल्लो समय देखिएको डेंगु संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकार गम्भिर हुनुपर्ने पनि सुझाव दिए । उनले भने,‘यदि डेंगु नियन्त्रण गर्न सेना सक्षम छ भने यसलाई प्रयोग गर्नुपर्छ । सरकारले यसबारेमा स्पष्ट कुरा गर्नुपर्छ । बोल्न डराउनुहुँदैन् । सेनापनि राज्यको संयन्त्र हो ।’ उनले जनताका आवाज संसदमा त्यति उठ्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले थपे,‘अहिले यसरी गौहत्या भएको छ । तर, संसदमा यो कुरा उठेको छैन् । मुलकुको धर्म,संस्कृतिमाथि प्रहार गर्ने काम कतैबाट पनि गर्नुहुँदैन् ।’

भण्डारीले संघीय प्रणाली आफैंमा नराम्रो नभएको जिकिर गरे । उनले भने,‘यो प्रणाली आफैंमा धेरै नराम्रो होईन, तर यो धेरै महँगो भयो भन्न थालिएको छ ।’ उनले वाईडबडी खरिद प्रकरणमा सरकार र अख्तियारले दोषीलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने,‘जोसुकै होस, यसमा दोषी देखिए कारबाही गरे भैगयो नि । किन कारबाही गर्न डराउनु ? तर, कारबाही निश्पक्ष हुनुपर्छ ।’

भण्डारीले देश बनाउने हो भने भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने धारणा राखे । उनले भने,‘भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्ने हो भने धेरै नेताहरु अहिले जेल पर्छन् । सरकारसँग काम गर्ने क्षमता छैन । भ्रष्टहरुलाई कारबाही गर्ने हुति छैन् ।’ उनले नेताहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।
आफ्नो पार्टीका सभापति एवम्् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वाईडबडी खरिद घोटालामा संलग्न दोषीहरुलाई कारबाही गर्नुपर्ने भनेर संसदमै बोलिसकेको भण्डारीले सुनाए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । उनले भने,‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि उपचारको लागि पैसा लाग्दैन् । यसबाट कसैको पनि मृत्यु हुँदैन् ।’

राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको सुनाए । आफूहरुले यसबाट बच्नको लागि अभियान नै चलाएको पनि उनको भनाई छ । उनले भने,‘यसको लागि हामीले प्रत्येक प्रदेशलाई ८० लाख रुपैयाँ र गाउँपालिकाहरुलाई दश लाख दिएका थियौं ।’

उनले लार्भाहरुबाट डेंगुको संक्रमण हुने गरेको सुनाए । उनले भने,‘यसले टाईडर मस्क्युटो बनाउँछ।’ डेंगु नियन्त्रणको लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पारे । डेंगुबाट प्रभावितहरुलाई काठमाडौंको टेकु अस्पतालमा ३२ जनालाई निःशुल्क उपचार गरिएको पनि उनले जनाए । फरक प्रसँगमा मन्त्री यादवले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेपनि अहिलेसम्म तीन चरणका सरकारबीच कुनै सहकार्य नदेखिएको गुनासो पोखे । उनले भने,‘अहिले तीन तहबीच जसरी सहकायर्ए हुनुपर्दथ्यो, त्यो भएको देखिएन् ।’

यद्धपी उनले पछिल्लो समय मुलुकमा आईपरेका विभिन्न प्राकृतिक विपदमा भने प्रान्तबाट राम्रो काम भएको सुनाए । उनले भने,‘बाढी, पहिरो र डुबानकै कुरा गर्दापनि विपतिमा स्थानीय तहबाट पनि राम्रो तदारुकता देखाईएको थियो । विगत वर्षमा विपतिको बेलामा केन्द्रबाट निर्णय लिँदा ढिलाई हुन्थ्यो, तर यो वर्ष त्यस्तो भएन् ।’ उनले २ नम्बर प्रदेशमा भ्रष्टाचार भयो भनेर बाहिर टिप्पणी भैरहेको सुनाउँदै अझैपनि प्रदेशले कर्मचारी नपाएको गुनासो पोखे ।

प्रतिक्रिया