केसीको हत्यामा संलग्न पाँचजना पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १३ असोज :नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

फाइल फोटो

पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुङ्गाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्की र रौतहटका सविना तामाङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नशालु पदार्थ सेवन गराएर सुनको गहना लुटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । “सुनकै गहना लुट्नका लागि हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो ।

मृतक कार्कीले विगत केही वर्षदेखि खाजा, किराना पसलसँगै रक्सी पसल सञ्चालन गरेको र हत्यामा संलग्न भएका व्यक्तिहरु ग्राहक बनेर उक्त पसलमा आउने गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिहरुले मृतक कार्कीको चारवटा सुनको औँठी र रु ४५ हजार नगद लुटेका थिए । हत्यामा संलग्न राजकुमार थापामगर भने अझै फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया