केही समयभित्रै वृद्धभत्ता ५ हजार पुर्‍याइने छ, अब दुःख, कष्टका दिन गए : प्रधानमन्त्री

admin

काठमाडौं, २० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्‍याइने बताएका छन् । बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने, ‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्‍याइने छ ।’

उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्‍याइने बताए । तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्‍याइने उल्लेख गरेको थियो । तर, सरकार बनेको तीन वर्ष बितिसक्दा पनि पाँच हजार नपुर्‍याइएकोमा आलोचना भएको थियो ।

सो क्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका छन् । ‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अब विकासको गति नरोकिने दावी गरे । प्रधानमन्त्री ओलीले सुनकोशी-मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे ।

उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विघाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाइले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।

फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि केही फरक नपर्ने बताए । ‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ ।

उनले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफुलाई पस्न नदिएपनि पानी पसाइदिएर खेतमा सिंचाई गरिदिने दावी गरे । ‘म मुख्यमन्त्री मार्फत खवर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि पानी पस्न नछेक्नुहोला’, प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया