कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध अदालत जाने चेतावनी

admin

काठमाडौं, १६ फागुन : प्रधानमन्त्री केपी ओली नेतृत्वको राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपाको प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जाने चुनौती दिएकी छिन् । कोमल वलीले अहिले आफू दाङमा रहेको जानकारी गराउँदै वकिलहरुसँग छलफल गरिरहेको बताएकी छिन् । वलीले (भोली) सोमबारसम्ममा काठमाडौं आएपछि अदालतमा मुद्दा लिएर जाने तयारीमा रहेको बताएकी छिन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तलाई निच सम्म भनेकी छिन् । गायिकासमेत रहेकी वलीले शनिबारर साँझ ट्वीटरमार्फत पन्त निच भएको आरोप लगाएकी थिइन् । आइतबार बिहान वलीले फेसबुकमार्फत पनि आपत्ति जनाएकी छिन् ।

पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि वली आक्रामक बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पन्तको नामै तोकेर लेखेकी छिन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ ।

उनले पन्तलाई महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन् । वलीले लेखेकी छिन्ः हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न : तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?

पत्नविरुद्ध उनी लगातार आक्रामक हुने क्रममा आमा दिदीबहिनी सबैको अपमान गरेको टिप्पणी गरेकी छिन् । वलीले लेखेकी छिन्ः ‘पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

पन्तले शनिबार पार्टीको एउटा भेलामा ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन् । कलाप फुलेका बुढी कामरेडहरु न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए ।

प्रतिक्रिया