कोरोनाको नयाँ प्रकारका कारण सन् २०२१ झन् कठिन हुने डब्ल्यूएचओद्वारा चेतावनी

admin

एजेन्सी, ४ माघ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झन् कठिन हुने चेतावनी दिएको छ । डब्ल्यूएचओले सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको हो । कोरोनाको नयाँ प्रकार पहिलोभन्दा धेरै संक्रामक रहेको पनि डब्ल्यूएचओले जनाएको छ ।

बेलायतमा देखा परेको उच्च संक्रामक क्षमताको भाइरस ५० देश र क्षेत्रहरूमा फैलिसकेको छ । त्यस्तै दक्षिण अफ्रिकामा देखा परेको भाइरस अरू २० देशमा फैलिसकेको छ । जापानमा पनि नयाँ प्रकारको भाइरसले थप चिन्ता बढाएको बीबीसीले जनाएको छ ।

जापानमा चार जनामा कोरोनाको नयाँ प्रकारको संक्रामण पहिचान भएको छ । तर उनीहरू ब्राजिलमा संक्रमित भएको अनुमान छ । नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा पहिलोभन्दा सङ्क्रामक क्षमता हुनु र मानिसको शरीरमा हुने कोषमा संक्रमण गराउन थप सहज हुनुलाई लिइएको छ ।

डब्ल्यूएचओले कोरोनाको संक्रमण रोक्न गरिएका प्रयास र स्वास्थ्य सावधानीको पालना गर्न तथा थप सजगता अपनाउनुपर्नेमा जोड दिएको छ । स्वास्थ्य विज्ञहरूले अहिले विकसित भएका खोपहरू कोरोनाका नयाँ प्रकारविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया