कोरोनाको महामारीलाई मिलेर सामना गरौं : राष्ट्रपति ट्रम्प

admin

काठमाडौं, १४ चैत : चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्ध युद्धस्तरमा लड्न आग्रह गरेका छन् ।

विश्वका प्रमुख २० वटा औद्योगिक राष्ट्रहरुको समूह जी-२० को शिखर बैठकलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसका कारण सिर्जित स्वास्थ्य एवं आर्थिक समस्यासँग जुध्न बहुपक्षीय सहयोग आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रपति सीले भने, “अन्तर्राष्ट्रिय समुदायले आफ्नो आत्मविश्वासलाई अझ सुदृढ गर्नु आवश्यक छ, एकताबद्ध भएर कार्य गर्नु पर्दछ र मिलेर नै समस्या सुल्झाउनु पर्दछ ।” प्रमुख संक्रामक रोगहरु सबैका साझा शत्रु हुन् भन्दै राष्ट्रपति सीले कोभिड-१९ जस्ता महामारीलाई विश्वले नै परास्त गरी मानवजातिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भने ।

विश्वभर ठूलो संख्यामा मानिसहरु कोभिड-१९ को महामारीका कारण संक्रमित भएका र मृतकको संख्या बढ्दै गएको अवस्थामा जी-२० को शिखर बैठक हो । यसपटकको बैठकलाई लाइभस्ट्रिमिङ मार्फत् संचालन गरिएको थियो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण विश्वभर पाँच लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भन् २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपति सीले सूचना आदानप्रदान गर्न, औषधि, खोप र महामारी नियन्त्रण सम्बन्धी पारस्परिक सहयोगलाई थप सुदृढ गर्न तथा संक्रमण रोक्न अन्तरदेशीय सीमा बन्द गर्न तत्कालै स्वास्थ्य मन्त्रीहरुको बैठक आयोजना गर्नु पर्नेमा जोड दिए ।

जी-२० को यस पटकको बैठकको अध्यक्षता साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गरेका थिए । यसवर्ष जी-२० को अध्यक्षता साउदी अरेबियाले गरेको छ । शिखर बैठकमा सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस अधानोम घेब्रेससले विश्वभर चुनौतीको रुपमा देखिएको कोरोनाभाइरसलाई नियन्त्रणमा ल्याउने उपायको खोजीमा आफ्नो संस्थाले प्रयास जारी रहेको बताए ।

उनले विश्वका सबैजसो मुलुकले भाइरसको प्रसार रोक्न अभूतपूर्व प्रयास गरेकामा आभार व्यक्त गरे। शिखर बैठकको अध्यक्षता गरेको साउदी अरेबियाका राजा सल्मानले भाइरस नियन्त्रणको खोप निर्माणका लागि अनुसन्धान र समन्वय गर्न विश्वका प्रविधिमा दक्ष मुलुकहरु समक्ष आग्रह गरे ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले महामारी नियन्त्रणमा वैज्ञानिक खोज सम्बन्धी गठबन्धनलाई बेलायतका तर्फबाट थप रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले कोरोनाभाइरसको खोप निर्माणका लागि बेलायत सरकारले ३ करोड २ लाख डलर प्रदान गर्ने घोषणा गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “हामीले समस्याका बारेमा छलफल गरेका छौं । आशा छ, यो समस्या लामो अवधिसम्म रहने छैन । संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि मित्रहरु र साझेदारहरुसँग मिलेर कार्य गरिरहेको छ ।”

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री शिन्जो आबे र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो समेतका नेताहरुले कोरोनाभाइरसको त्रासदीबाट आमजनतालाई बचाउन हालसम्म गरिएका प्रयासका बारेमा चर्चा गर्दै विश्व अर्थतन्त्र र जनस्वास्थ्यलाई ठीक ठाउँमा ल्याउन थप साझा प्रयास आवश्यक छ भन्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया