कोरोनाबाट ज्यान गुमाएकाको सम्झनामा अमेरिकाले पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाउने

admin

काठमाडौं, ११ फागुन : अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु दु:खद भएको बताएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

वर्ल्ड ओ मिटरकाअनुसार अमेरिकामा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १२ हजार ५ सय ९० जनाको ज्यान गएको छ । ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोरोना महामारीसँग लडिरहेको भन्दै यस्तो दुःखद अवस्था आए पनि विक्षिप्त नहुन आग्रह गरेका छन् । उनले कोरोनाविरुद्धको लडाइमा सबैले मिलेर जुट्नु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडनले भने, ‘एउटा मुलुकको रुपमा हामीले यस्तो क्रुर भाग्य स्वीकार गर्न सक्दैनौं ।’ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जलि दिइएको थियो । सम्बोधनपछि ज्यान गुमाएकाहरुको सम्झनामा मौन धारण गरिएको थियो । साथै राष्ट्रपति र उपराष्ट्रपतिले केहीबेर मौनधारण गरेका थिए ।

बाइडनले अमेरिकी नागरिकहरुसँग कोरोनाविरुद्धको लडाइँमा सहयोगको आह्वान पनि गरेका छन् । साथै बाइडेनले कोरोनाबाट ज्यान गुमाउनेको सम्झनामा सरकारी कार्यालयमा पाँच दिनसम्म राष्ट्रिय झण्डा झुकाउने आदेश दिएका हुन् । अमेरिकी राष्ट्रपति बाइडनले पदभार ग्रहणसँगै कोरोनालाई गम्भीररुपमा लिनुपर्ने बताउँदै आएका छन् ।

उनले कोरोना नियन्त्रणको लागि खोप कार्यक्रमलाई तीव्रता दिनेजस्ता केही महत्वपूर्ण कदम पनि चालेका छन् । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई कमजोर आँक्दै आएका थिए ।  कोरोना भाइरसको महामारीका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ अहिलेसम्म दुई करोड ८८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रतिक्रिया