कोरोनाबारे अध्ययन गर्न ‘डब्ल्यूएचओ’ टिम चीनको वुहान पुग्यो, दुई हप्तासम्म क्वरेण्टीनमै बस्ने

admin

एजेन्सी, १ माघ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोरोना भाइरस (कोभिड-१९) को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो ।

दश वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, अस्पताल र सी-फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोभिड-१९ को संक्रमण भेटिएको थियो । बिहीबार यो टिम वुहान पुग्दा त्यहाँको जनजीवन लगभग सामान्य भएको पायो तर उत्तरी चीनमा कोरोनाको नयाँ संक्रमण देखिन थालेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको टिमले जाँच सुरु गर्नुअघि पहिलो दुई हप्तासम्म क्वरेण्टीनमा रहनेछ । यो टिमले जाँचको क्रममा चिनियाँ अधिकारीहरूले दिएको नमुना र प्रमाणको प्रयोग गर्नेछ । यो टिमले कुन जनावरबाट कोरोना सुरु भएको हो, यसको जाँच पनि गर्नेछ ।

विश्व स्वास्थ्य सङ्गठनमा विश्वव्यापी संक्रमण र प्रतिक्रिया इकाइका प्रमुख प्रोफेसर डेल फिशरले बीबीसीसँग भने, ‘विश्वलाई यसलाई एक वैज्ञानिक यात्राको रुपमा लिने विश्वास छ ।’ उनले भने, ‘यस राजनीतिक र आरोप-प्रत्यारोपको विषय होइन बरु यो एक वैज्ञानिक प्रश्नका अनुसार जाने कोसिस हो ।’

प्रोफेसर पिशरका अनुसार धेरै वैज्ञानिक यो भाइरस ‘प्राकृतिक रूप’ मा आएको मान्छन् । सुरुमा कोभिड-१९ वुहानको सुरुवात वुहानको मासु बजारबाट फैलिएको मानिएको थियो ।

प्रतिक्रिया