कोरोनाले सिधैं लियो २१ वर्षीया युवतीको ज्यान

admin

बेलायतमा कोरोना भाइरसका कारण २१ वर्षीया युवतीको मृत्यु भएको छ । यी युवतीमा अन्य कुनै स्वास्थ्य समस्या वा रोग नरहेको उनको परिवारले जनाएको छ ।  क्लोय मिडिलटनको मृत्युबाट अन्य व्यक्तिले सिक्नुपर्ने उनकी आमा डायना मिडिल्टनले बताएकी छिन् ।


‘जसले कोभीड–१९ लाई केवल भाइरसमात्रै सोच्नुभएको छ, तपाईहरुले पुनर्विचार गर्न जरुरी छ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘आफ्नै अनुभवलाई लिएर भन्छु, यो भाइरसले मेरी स्वस्थ र कुनै रोगको लक्षण नरहेकी २१ वर्षीया छोरीलाई लिएर गएको छ ।’

बकिङह्याम्सायरस्थित हाई वाइकम्बेको यो परिवारले महामारी रोकथामका लागि घरको ढोका थुनेर बस्न सबैलाई आग्रह गरेको छ । ‘कृपया सरकारको नियम मानेर आफ्नो सुरक्षा गर्नुहोस् । यो आफैं भाइरस फैलिएको छैन, मानिसले फैलाइरहेका छन् ।’

पछिल्लो तथ्यांकअनुसार बेलायतमा कोरोबाट ४ सय २२ जनाको मृत्यु भइसकेको छ । ८ हजार ७७ जनामा संक्रमण देखिएको छ । बेलायतका राजकुमार चाल्र्समा समेत कोरोना भाइरसको संक्रमण देखिएको क्लेरेन्स हाउसले बुधबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

प्रतिक्रिया