कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

admin

काठमाडौं, ७ माघ : भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेकाले चाँडै खोप अभियान सुरु गर्ने बताए । उनले विश्वमा भर्खरै विकास भएको कोरोनाविरुद्धको खोप स्वास्थ्य सामग्रीमा मात्रै सीमित नरहेर राजनीतिक सामग्रीको रूपमा समेत देखिएकाले यसको उपलब्धताको लागि राजनीतिक रूपमा पहल हुने बताए ।

मन्त्री त्रिपाठीले नेपालको ७२ प्रतिशत मानिसलाई खोप दिनुपर्ने आँकलन सरकारले यसअघि नै गरिसकेको भन्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेकाहरूलाई खोप दिने बताए । थप खोप खरिद तथा प्राप्तिका लागि पनि पहल भइरहेकाले चाँडै थप खोप ल्याएर आम मानिसलाई लगाउने पनि मन्त्री त्रिपाठीले बताए ।

प्रतिक्रिया