कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० जेठ: नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो ।

सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेलाई ज्याकेट हस्तान्तरण गर्नुभयो ।

उत्पादक सङ्घका अध्यक्ष पौडेलले नेपालमा आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रभावकै कारण कोरोनाको सन्त्रास कम देखिएको उल्लेख गर्र्दै पछिल्ला दिनमा यसको महत्व बढ्दै गएको बताउनुभयो ।

चिकित्सक सङ्घलका अध्यक्ष डा ज्ञवालीले वितरित ज्याकेटले औषधि उत्पादक, चिकित्सक, स्वास्थ्यकर्मी एक ठाउँमा छन् भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ ।”

यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ । कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन् । यही बेला आयुर्वेद चिकित्सकले अधिकतमरूपमा आयुर्वेदलाई आम मानिसमाझ पु¥याउनुपर्ने बेला आएको चिकित्सकहरुको भनाइ थियो ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष लामिछानेले अब आयुर्वेद औषधि उत्पादक, व्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीले आयुर्वेदलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सरकारले भर्खरै आयुर्वेद ‘गाइडलाइन’ बनाएर आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रवद्र्धनमा ध्यान दिएको छ । नेपालीको रोेगप्रतिरोधात्मक क्षमता आयुर्वेद तथा जडीबुटीहरुकै कारण उच्च रहेको प्रमाणित भइसकेको आयुर्वेद चिकित्सकको भनाइ थियो ।

प्रतिक्रिया