कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २२ फागुन :विश्वव्यापीरूपमा आतङ्कका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट पार्ने प्रभावका बारेमा अध्ययन थालिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्ने असरको विषयमा अध्ययन थालिएको र यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले काम शुरु गरिसकेको छ ।”

चीनबाट फैलिएको कोरोना भाइरसको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पर्न थालिसकेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारसमेत तत्कालका लागि स्थगन गरेको छ । औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव देखिने थालेको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले समग्र पक्षको अध्ययन शुरु गरिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालीन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर सरकार अगाडि बढ्ने स्पष्ट पार्नुभयो । नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने प्रवद्र्धनका काम तत्कालका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो । विश्वव्यापीरूपमा समस्या कस्तो प्रभाव देखिन्छ सोही आधारमा नै थप व्यवस्था एवं निर्णय गर्दै जाने सोचाइमा रहेको उहाँको भनाइ छ । यस्तै कतिपय निर्णयमा अन्तर्राष्टिय कानूनलाई हेरेर पनि निर्णय गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

यस्तै सेक्युरिटी प्रेससम्बन्धी विषयमा आफूले बुधबार नै स्पष्ट पारिसकेको दोहो¥याउनुभयो । मन्त्री डा खतिवडाले भन्नुभयो, “मैले बुधबार नै सेक्युरिटी प्रेस खरिदका लागि प्रतिस्पर्धात्मक विधि अपनाइने उल्लेख गरिसकेको छु । प्रचलित कानूनअनुसार नै आवश्यक निर्णय हुन्छ ।” यस्तै अन्तःशुल्कको स्टिकर तथा अन्य अत्यावश्यक सामग्रीमा समेत सोही प्रक्रिया अवलम्बन गरिने मन्त्री डा खतिवडाको भनाइ छ ।

प्रतिक्रिया