कोरोना खोप आपूर्ति गर्न सरकारले बनायो समिति

admin

काठमाडौँ, कात्तिक २५ : सरकारले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ। अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन भएको हो।

यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठन गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। ‘यो समितिलाई कोरोनाको भ्याक्सिन कहाँ बनेको छ खोज्ने र छिटो माध्यमबाट कसरी नेपाल ल्याउन सकिन्छ भन्ने प्रक्रियासमेत मिलाउने गरी जिम्मेवारी दिइएको छ,’ ती मन्त्रीले भने।

खोप समयमै ल्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने पनि सरकारको भनाइ छ। मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ। सरकारले कोरोना परीक्षण र उपचार पनि नि:शुल्क गर्ने भएको छ।

सर्वोच्चले सरकारलाई आदेश दिँदै उपचार परीक्षण गर्न भनेको थियो। सरकारले गत कात्तिक २ देखि लागू हुने गरी कोरोना परीक्षण र उपचार खर्च विपन्नबाहेक अरू आफैंले ब्यहोर्नुपर्ने निर्णय गरेपछि सरकारको आलोचना भएको थियो।

प्रतिक्रिया