कोरोना प्रतिकार्य मै सरकार केन्द्रित छ : मुख्यमन्त्री शाही

राष्ट्रिय समाचार समिति

सुर्खेत, १३ जेठ : कर्णालीको प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा आज सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाबाट कर्णाली पनि अछुतो नरहेको बताउनुभयो । उहाँले नागरिकहरुको जीवन रक्षाका निम्ति जनशक्ति परिचालन र स्वास्थ्यका तत्काल आवश्यक संरचना निर्माण गरिएको जनाउनुभयो । “प्रदेशभित्र हालसम्म ५३१ स्थानका क्वारेन्टाइनमा १५ हजार १३५ बेड छन्,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “आइसोलेसन वेड ३९३, आइसियु ४० र १३ वटा भेन्टिलेटर प्रबन्ध गरिएको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र चौरजहारी सामुदायिक अस्पताललाई विशिष्टिकृत अस्पतालको रूपमा आवश्यक स्वास्थ्य सामग्री, उपकरण र जनशक्ति व्यवस्था गर्न बजेट उपलब्ध गराईएको जनाउँदै उहाँले जिल्ला अस्पतालहरुको समेत क्षमता बढाई राख्न बजेट पठाई तयारी गर्न लगाइएको जनाउनुभयो । उहाँले अगाडि भन्नुभयो, “जुम्ला र सुर्खेतका ठूलो मात्रामा नमूना परीक्षण गर्न मिल्ने आरडीटी पीसीआर मेसिन लकडाउनकै बीचमा प्रबन्ध गरिएको छ । हालसम्म कर्णालीमा पाँच हजार ९९७ जनाको पीसीआर र १० हजार ५८ जनाको आरडीटी परीक्षण सम्पन्न गरेका छौँ ।”

प्रदेश भित्रका ७१८ वटा वडाहरूमा प्रत्येक वडाबाट १० जनाका दरले सम्भावित जोखिममा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गर्ने क्रममा साविकको कर्णालीका जिल्लाको बाँकी रहेको बताउँदै उहाँले हाल भारतबाट आउने क्वारेन्टाइनमा राख्न सकिए मात्र कर्णाली प्रदेश सुरक्षित हुन सक्ने विचार व्यक्त गर्नुभयो । यसमा नागरिक तहदेखि सबै सरोकारवालाहरु सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।

त्यस्तै, जिल्ला र स्थानीय तहमा स्थापित क्वारेन्टाइनको अनुगमन गरी आवश्यक सुधार र सुरक्षा व्यवस्था मिलाउन जिल्ला सुरक्षा निकायहरुसँग समन्वय गर्ने गरी जुम्ला र कालिकोट जिल्लामा प्रदेश प्रहरी प्रमुख, दैलेख र सुर्खेत जिल्लामा पृतनापति, उत्तर पश्चिम पृतना हेडक्वाटर नेपाली सेना र सल्यान रुकुम (पश्चिम) र जाजरकोट जिल्लामा सशस्त्र प्रहरी बल, महेश्वरी बाहिनी मुख्यालयका प्रमुखलाई जिम्मेवारी तोकिएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

उहाँका अनुसार यो महामारीबाट हुन सक्ने सम्भावित खाद्य संकट न्यूनीकरण गर्न बाझो जग्गाहरूमा समेत पुनः खेती शुरू गर्ने प्रदेशवासीहरुमा अपिल गर्नुका साथै र कृषि सामग्री तथा कृषि उपजको ढुवानी, नियन्त्रित रूपमा भौतिक दूरी कायम राख्दै खेतबारीको काम गर्ने वातावरण तयार गरिएको छ ।

चौरजहारी घटनाको सन्दर्भमा प्रदेश सरकारको तर्फबाट दुःख व्यक्त गर्दैै घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरी काम अगाडि बढाईसकेको र प्रदेश सरकारको तर्फबाट छानविन तथा दोषीमाथि कारवाहीका लागि निर्देशनसमेत दिइसकिएको उहाँले बताउनुभयो । मृतक परिवारलाई उचित राहत प्रदान गरिने उहाँको भनाई थियो ।

प्रतिक्रिया