कोरोना भाइरस : दक्षिण कोरियामा रहेका नेपालीलाई सचेत रहन दूतावासद्वारा आग्रह

admin

काठमाडौं, ११ फागुन : दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो ।

शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा थप सङ्क्रमण भएर सङ्क्रमितको संख्या चार सय ३३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

कोरियमा कोरोनाको सङ्क्रमणबाट दुई जनाको ज्यान गइसकेको छ । दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ ।

डाएगुका सडकमा मानिसहरु निस्कन छाडेका छन् । कोरोना भाइरसको सङ्क्रमण भएको शंका लागेमा दक्षिण कोरियामा अवैधानिक रुपमा बसेका नेपाली नागरिकले समेत सार्वजनिक स्वास्थ्य क्षेत्रमा गएर जाँच गर्न र उपचार गराउन सक्ने छन् ।

अवैधानिक हैसियतमा बसेको भए पनि जाँच गर्दा वा उपचार गर्दा कानुनी हैसितबारे नसोध्ने, पक्राउ नगर्ने र स्वदेश फर्काउने छैन । कोरियाको अध्यागमन विभागले अस्पताललाई बिरामीको कानुनी अवस्थाबारे नसोध्न पत्राचार गरिसकेकोले ढुक्क भएर जाँच र उपचार गराउन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया