कोरोना भाइरस फैलिने क्रम तीब्र

admin

काठमाडौं, १२ फागुन : केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ ।

दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको सोमबार जनाइएको छ । त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या सात पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनमा मृत्यु हुनेको संख्या २ हजार ५९२
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ५९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ ।

तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या लगातार करिब १०० रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्तिहरु सबै हुबेइ प्रान्तका रहेका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्। यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका छन् ।

इरानमा १२ जनाको मृत्यु
इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुनेको व्यक्तिको संख्या १२ पुगेको संसदका एक प्रवक्ताले बताएका छन् ।

संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाई उद्धृत गर्दै अर्ध सरकारी समाचार संस्था इस्नाले भाइरसको सङ्क्रमण ४७ जनामा देखिएको जनाएको छ ।

अफगानिस्तान, बहराइन र कुवेतमा पनि सङ्क्रमण
एएफपीका अनुसार अफगानिस्तान, बहराइन र कुवेतमा कोरोना सङ्क्रमित व्यक्ति फेला परेको छ । कुवेतमा फेला परेका सङ्क्रमित तीन व्यक्ति इरानबाट आएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया