कोरोना विरुद्धको खोप लगाएकालाई कुवेतमा प्रवेश खुला

admin

काठमाडौं, १७ साउन : कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई कुवेतले आजदेखि प्रवेश खुला गरेको छ । कुवेतका विमानस्थलहरुलाई त्यहाँको सरकारले खोपको पूर्ण मात्रा लगाइसकेका यात्रुलाई प्रवेश गर्न अनुमति दिइसकेको कुवेत टाइमले जनाएको छ ।

कुवेत आउन चाहने यात्रुले आफूले खोप लगाएको प्रमाणपत्र कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अपलोड गर्नुपर्ने जनाइएको छ । जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै कुवेत प्रवेश गरेको सात दिनसम्म घरमै क्वरेण्टीन बस्नुपर्ने हुन्छ ।

तर तीन दिनमै कोरोना रिपोर्ट नेगेटिभको रिपोर्ट देखाएमा एक हप्तासम्म क्वरेण्टीन बसिरहनु नपर्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ । फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका खोपलाई कुवेतले मान्यता दिएको छ । यी कम्पनीकामध्ये नेपालमा जोनसन एण्ड जोनसन मात्र आएको छ, त्यो पनि निकै कम मात्रामा ।

प्रतिक्रिया