कोरोना संक्रमण बढे पनि तत्काल कुनै क्षेत्र बन्द नहुने, नयाँ मापदण्ड आज सार्वजनिक गरिदै

admin

काठमाडौं, ३१ चैत : कोरोनाको संक्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नयाँ मापदण्ड (आज) मंगलबार सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको संक्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले भने तत्काल कुनै पनि क्षेत्र बन्द गर्नु नै अन्तिम उपाय नभएको भन्दै नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो । तर, अवस्था र परिस्थिति हेरेर थप निर्णय भने गर्ने सरकारको तयारी छ ।

नेपालमा यूके भेरियन्ट फैलिएको र यसबाट बालबालिका धेरै प्रभावित हुन थालेका डाक्टरले बताउँदै आएका छन् । सोमबार देशभर ५ सय ५९ जनालाई कोरोना संक्रमण भएकोमा १८ वर्षमुनिका २४ जना छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो १० दिनमा १८ वर्षमुनिका दुई सय ८० जना संक्रमित भएका छन् । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै विद्यालय क्षेत्रमा जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया