कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन विश्वभर २ लाख ३० हजारभन्दा बढीमा संक्रमण

admin

काठमाडौं, २९ असार : विश्वभर कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलंदै जाँदा दैनिक संक्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै गएको छ ।

विश्वभर आइतबार मात्रै दुई लाख तीस हजार ३ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । एकै दिन नयाँ संक्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो ।

यसअघि दुई लाख २८ हजार १८६ जनामा संक्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा संक्रमण तीव्र हुँदा दैनिक थपिने संक्रमितको संख्या धेरै भएको डब्लुएचओले जनाएको छ ।

आइतबार अमेरिकामा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

विश्वभर आइतबार कोभिड-१९ बाट पाँच हजार २ सय ८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्लुएचओले जनाएको छ । यस्तै, विश्वभर संक्रमितको संख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु
कोरोनाबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका डब्लुएचओद्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोनाका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९९५ जनामा कोरोनाका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७१४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३७८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया