कोलडाँडावासी एक महीनादेखि अँध्यारोमा

admin

रामपुर, २१ साउन: पाल्पाको तिनाउ गाउँपालिका–५ कोलडाँडावासी एक महीनादेखि अँध्यारोमा बस्न बाध्य छन् । सुतिखोला लघु जलविद्युत् आयोजनाको कुलोमा पानी बन्द भएपछि विद्युत् आपूर्तिमा समस्या भएको हो ।

कोलडाँडाका २४५ परिवार अँध्यारोमा बस्न बाध्य छन् । असार २१ गतेयता परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा कुलो पुरिएपछि पानी सञ्चालन बन्द भएको हो । श्रमदानबाट मर्मत गरिए पनि पहिरोका कारण पटक पटक कुलो पुरिँदा समस्या भइरहेको लघुजलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीले जानकारी दिनुभयो ।

कुलो मर्मत गरेर विद्युत् आपूर्ति गरिने उहाँले बताउनुभयो । विसं २०६४ मा आयोजना निर्माण गरिएको हो । विद्युत् आपूर्ति बन्द हुँदा कुटानीपिसानी गर्न, रेडियो, टेलिभिजन, कम्प्युटर चलाउन र मोबाइल चार्ज गर्न समस्या भएको छ । रासस

प्रतिक्रिया