को हुन् यी युवा जस्ले लकडाउनको समयमा रातारात बालबालिकाको भोक मेटाउन पुगे ?

admin

काठमाडौं, कोरोना भाइरसको संत्रासले विश्वका शक्तिसम्पन्न राष्ट्रदेखी लिएर नेपाल पनि अहिले आतंकित भईरहेको अवस्थामा नेपालमा पनि अहिलेसम्म ५ जनामा यो महामारी देखा परिसकेको छ ।

आज नेपाल लकडाउन भएको ८औं दिन भईसक्दा समेत सरकारले हुँदा खाने वर्गहरुका लागि कुनै पनि प्रकारको प्रभावकारी राहातका कार्यक्रमहरु ल्याउन सकेको छैन । सरकारले जारी गरेको यो लकडाउनले दैनिक ज्यालामजदुरी गरेर आफ्नो दैनिकी चलाउने लाखौँ नागरिकहरुको रोजीरोटी नभएर भोकभोकै बस्नु पर्ने बाध्यतामा परेका छन् ।

त्यो भन्दा पनि बिकराल समस्या त काठमाडौं लगायत देशभरी रहेका सामाजिक संघसंस्थामा रहँदै बस्दै आएका अशाहाय, अशक्त, मानसिक तथा शारिरीक रुपमा कमजोर रहेका जेष्ठ नागरिक तथा अनाथ बालबालिका केन्द्रमा रहेका व्यक्तिहरुलाई भरण पोषण गर्ने लगायत अत्यावश्यक सामग्रहिरुको चरम अभाव रहेको सन्र्दभमा नेपाल सरकारले उचित ध्यान पुर्‍याएको छैन ।

रोग भन्दा पनि भोकले पो मरिन्छ कि भन्दै उनीहरु विभिन्न मिडीयाहरु गुहार्न थालेका छन् । बिशेषगरि नेपाली समाजकै सहृदयी मनहरुबाट प्रदान गरिएको थोर बहुत राशन र पैसाले नै यस्ता सामाजिक संघसंस्थाहरु चल्ने गर्छन । लकडाउनले गर्दा आज थुप्रै व्यक्तिहरु एक स्थानबाट अर्को स्थानमा आवातजावत गर्न नपाएका कारण यस्ता सामाजिक संस्थामा पुग्ने दाताहरु अहिले न्यून मात्रामा मात्र रहेका छन् ।

त्यस्तै आफैं अपाङ्ग भएर पनि काठमाडौं जिल्लाको गोकर्णमा संयूक्त अपांग एकता आवाज केन्द्र संचालन गर्दै आएका तिल बहादुर कार्की आफ्नो संस्थामा आश्रित बालबालिकाहरुलाई कसरी बचाउने भनेर गम्भीर चिन्तामा परेका थिए, तर भगवानले पनि तँ चिता म पुर्‍याउँछु भन्नुहुन्छ भन्ने भनाइलाई यतिबेला रामेछापको सालुमा जन्मिएका समाजसेवी प्रदिप घिमिरेले पुष्टि गरेका छन् ।  लामो समयदेखि सामजिक कार्यमा सक्रिय युवा प्रदिप घिमिरेको संयोजकत्वमा अहिले यस संस्थालाई केहि दिन भएपनि भरथेग गर्न पुग्ने राशन उपलब्ध भएको छ ।

सदैव सामाजिक कार्यमा तत्पर प्रदिप घिमिरेले चैत्र १६ गते आफू लगायत नवराज चौंलागाई (कपन), सुशिला चौलागाँई (कपन), राम न्यौपाने (भक्तपुर) र अनिल हुमागाँई (चाबहिल)को संयूक्त प्रयासबाट त्यहाँ रहेका टुहुरा, अशाहाय, अशक्त बालबालिकालाई देशमा राष्ट्रिय संकट आई परेको यस्तो कठिन परिस्थितिका बाबजुत पनि अत्यावश्यक खाद्यान्न सामग्री सहयोग गरी ४८ जना भाइबहिनीको मुहारमा खुसी दिएका छन् ।

एक्लैले मात्र सहयोग सम्भव नभएको र सबैजनाको पहलले नै केहि दिनको राशन उपलब्ध गराउन पाउदा आफु हृदयदेखि नै खुसि भएको बताउने प्रदिप घिमिरे भन्छन्, सेवा नै धर्म हो । आफू पनि बाँचौं र अरुलाई पनि बाचाऔं ।

बाँकी भिडियोमा हेर्नसक्नुहुनेछ ।

प्रतिक्रिया