क्यानाडाको ‘उत्कृष्ट आप्रवासी अवार्ड’ का लागि एक नेपालीभाषी छनौट, भोटिङ लाइन खुल्ला !

admin

काठमाडौं, २४ साउन : यो वर्ष पनि एक नेपालीभाषी  क्यानाडाको ‘उत्कृष्ट आप्रवासी अवार्ड’ का लागि सार्वजनिक गरिएको प्रारम्भिक छनौट सूचीमा परेका छन् । एक दशकभन्दा बढी समयदेखि वर्षेनी दिइँदै आएको अवार्डका लागि ‘उत्कृष्ट ७५ आप्रवासी’ को सूचीमा इन्द्र महर्जन परेका हुन् ।

उक्त सूचीमा परेकाहरु मध्येबाटै धेरै भोट ल्याउनेहरु ‘उत्कृष्ट २५’ मा छानिन्छन् र अवार्ड विजेता घोषित गरिन्छन् । ब्राम्प्टन निवासी महर्जन पिउने पानी, ढल व्यवस्थापनलगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पानीका क्षेत्रमा उत्कृष्ट कार्य गरेर क्यानेडियन अथवा विश्वका मानवको जीवनमा गुणात्मक परिवर्तन गर्न योगदान गरेको कारण उनले यसै वर्ष ‘गभर्मेन्ट लिडर क्याटगरी’ मा ‘वाटर नेक्स्ट अवार्ड’ पाएका छन् ।

उनले अन्टारियोको सरकारले कर्मचारीहरुलाई उनीहरुको उत्कृष्ट कार्यका लागि दिइने ‘एमेथिस्ट अवार्ड’ पनि पाइसकेका छन् । सन् २०१९ मा अन्टारियो मिनिस्ट्री अफ इन्भारोमेन्ट, कन्जर्भेसन एण्ड पार्क्सका परियोजना कार्यान्वयनका क्रममा सिर्जनात्मक र नेतृत्वपूर्ण भूमिका निर्वाह गरेको कारण उनलाई सो अवार्ड दिइएको हो ।

‘क्यानेडीयन इमिग्रयान्ट’ नामक म्यागजिनले आप्रवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले १३ वर्षदेखि यो अवार्ड प्रतिस्पर्धा सञ्चालन गर्दै आएको छ । उनीसहित मनोनयनमा परेकाहरुबारे अवार्ड आयोजक संस्थाले संक्षिप्त जानकारी पनि प्रकाशित गरेको छ । महर्जनलाई ढल व्यवस्थापनको क्षेत्रमा सिर्जनात्मक समाधानका उपायहरु अवलम्बन गरिरहेको व्यक्तिका रुपमा उल्लेख गरिएको छ ।

क्यानाडाका ‘उत्कृष्ट २५ आप्रवासी’ मा नेपाली व्यवसायी थापा मनोनीत
यसअघि नेपाली मूलका प्राध्यापक तुल्सी धरेल क्यानाडाका ‘उत्कृष्ठ २५ आप्रवासी’ मा पर्न सफल भएका थिए भने गत वर्ष नेपाली व्यवसायी अनिल थापा यही प्रतियोगिताका लागि ७५ जनाको प्रारम्भिक सूचीमा मनोनीत भएका थिए ।

विभिन्न संघसंस्थाहरुले सात वर्षदेखि युवा र विदेसमा प्रशिक्षित व्यक्तिहरुलाई मार्गदर्शन गरेको भन्दै उनको प्रशंसा समेत गरेका छन् । उनी पानी, उर्जा, वातावरण र ढल व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि स्वयंसेवा पनि गरिरहेका छन् । उनी अन्टारियोका स्थानीय विद्यालयहरुको ‘प्यारेन्ट काउन्सिल’ मा पनि सक्रिय सहभागी हुने गरेका छन् ।

यसैगरी ‘प्रोफेसनल इन्जिनियर्स अन्टारियो’ र यसका अरु च्याप्टरहरु, सेन्टर फर कम्युनिटी इनर्जी ट्रान्सफर्मेसनमा सिटी अफ ब्राम्प्टन, रायर्सन युनिभर्सिटीको इन्जिनियर्स इन रेसिडेन्स प्रोग्राममा पनि उनको सहभागिता रहेको छ । क्यानाडा आउने नयाँ मानिसहरुलाई सहयोग गर्ने एजेन्सीहरु डब्लुइएओ, ओडब्लुडब्लुए, सिडब्लुडब्लुए, ओएनइआइए, ओएसपिइ, टिआरआइइसी लगायतका संस्थाहरुमा पनि उनले सहयोग पुर्‍याउने गरेका छन् ।

उनले हम्बर कलेज, एसेस इन्प्लोइमेन्ट र रायर्सन युनिभर्सिटीको ‘ग्रीन इकोनोमी प्रोग्राम’ मा पनि विभिन्न किसिमले सहयोग गरेका छन् । यस्तै नवागन्तुक एवं अन्तर्राष्ट्रिय रुपमा प्रशिक्षित इन्जिनियरहरुका लागि धेरै पटक अतिथि वक्ता भएर योगदान गरेका छन् । सफल करिअर बनाउन सकारात्मक बन्न, योजनावद्ध र धैर्यका साथ लाग्न नवागन्तुकहरुलाई प्रोत्साहित दिने गरेको उनको परिचयमा उल्लेख छ ।

नेपालमा हुर्केका महर्जन दुई भाइबहिनीमा जेठा हुन् । करिब ११ वर्षअघि श्रीमती र छोरीका साथ उनी क्यानाडा आएका हुन् । इन्जिनियरिङ र बिजिनेस स्टडिजमा मास्टर्स डिग्री गरेका महर्जन एक व्यावसायिक इन्जिनियरका रुपमा अन्टारियो क्लिन वाटर एजेन्सीमा इनोभेसन, टेक्नोलोजी एण्ड अल्टरनेटिभ डेलीभरी डाइरेक्टरका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया