क्यान्सर अस्पतालमा अनियमितताको आरोपसहित ज्ञापनपत्र

राष्ट्रिय समाचार समिति

भक्तपुर, २९ साउ: भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता भएको दावीसहित त्यसलाई रोक्न माग गर्दै भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मका वडावासीले आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।नगरवासीले अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसलाई रोकेर अस्पताल सञ्चालनमा भूमिका निर्वाह गर्न नगरप्रमुख प्रजापतिलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझेपछि नगरप्रमुख प्रजापतिले क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई सार्वजनिक हितमा स्थापना भएको र त्यसका लागि नगरपालिकाले जग्गा प्रदान गरेको बताउँनुभयो । उहाँले नगरवासीको न्यायोचित मागप्रति आफू गम्भीर हुने बताउनुभयो ।

ज्ञापनपत्र बुझेलगत्तै नगरप्रमुख सुवालको नेतृत्वमा जनप्रतिनिधिसहितको टोली तत्कालै भक्तपुर क्यान्सर अस्पताल दूधपाटीको स्थलगत अवलोकन गरेको छ । नगरप्रमुख प्रजापतिले अस्पतालमा भइरहेको गलत कामका बारेमा व्यवस्थापन समितिका पदाधिकारीसँग जानकारी लिन खोज्दा कोहीपनि नगरप्रमुखको सम्पर्कमै नआएको प्रजापतिले बताउनुभयो ।

नगरप्रमुख प्रजापतिले अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठसँग भ्रष्टाचारसम्बन्धी आरोपका बारेमा जानकारी लिँदै यसबारेमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । अस्पतालको स्थापनाकालदेखि नगरपालिका अस्पताल व्यवस्थापन समितिको सदस्य भए पनि कुनै पनि बैठकमा नगरपालिकालाई सहभागी नगराउनुमा आपत्ति जनाउँदै उहाँले भक्तपुर क्यान्सर अस्पतालले देशैभरिको रोगीको उपचार गरिरहेको र यसको निरन्तर सञ्चालनको लागि आवश्यक पहल गर्न सकारात्मक रहेको बताउनुभयो ।

मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमिताबारेमा सत्यतथ्य छानविन गरिदिन आग्रहसमेत गर्नुभयो । उहाँले अस्पताल व्यवस्थितरुपमा सञ्चालन गर्न तथा बिरामी सर्वसाधारणको उपचार सेवामा प्रभावकारिता ल्याउन नगरपालिकाको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया