क्वारेन्टिनमा नाच्दै, गाउँदै तनाव भगाउँदै

राष्ट्रिय समाचार समिति

दमौली, २३ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् ।

नगरपालिकाले क्वारेन्टिनमा रहेकालाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको छ । आयुर्वेद शाखाले क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउन योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । क्वारेन्टिनमा बस्दा मानसिक र शारीरिकरूपमा सन्तुलन कायम गर्नका लागि योग प्रशिक्षण गराउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र उत्प्रेरणाले रोगविरुद्ध लड्ने क्षमता बढाउन मद्दत पुग्नेछ ।

“क्वारेन्टिनमा बस्दै आएकालाई रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुमा सकरात्मक सोचको विकास गर्न योगले सहयोग पु¥याउने विश्वास लिइएको छ”, कुमालले भन्नुभयो । उहाँका अनुसार क्वारेन्टिनमा बसेकालाई रोगप्रतिरोधात्मक शक्ति बढाउने औषधिसमेत वितरण गरिएको छ । उक्त क्वारेन्टिनमा १८ जना छन् । क्वारेन्टिनमा बसिरहेकाले गीत सङ्गीतको माध्यमबाट योगसम्बन्धी प्रशिक्षण दिन थालेपछि खुशी व्यक्त गरेका छन् । क्वारेन्टिनमा बस्दा मानसिक तनाव हुने भएकाले योगले तनाव व्यवस्थापन गर्न मद्दत पुग्ने उनीहरुको विश्वास छ ।

शुक्लागण्डकी नगरपालिकाले गाउँफर्कोदय माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, तालवेशी माध्यमिक विद्यालय र खैरेनीर माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बनाएको छ । गाउँफर्कोदय माविमा २०, जनकल्याण माविमा १६ र खैरेनी माविमा १८ गरी ५४ जना क्वारेन्टिनमा छन् । तालवेशी माविमा रहेका १६ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि एघारौँ दिनपछि उनीहरुलाई घर पठाइएको छ ।

यसैबीच पोखरास्थित कुसुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्ण राउतले शुक्लागण्डकी नगरपालिकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि सहयोग गर्नुभएको छ । उहाँले सात प्रकारका औषधि नगरपालिकाका उपप्रमुख सविता रसाइलीलाई हस्तान्तरण गर्नुभएको हो ।

ऋषिङ गाउँपालिकास्थित २८ वर्षीय युवकमा कोरोना पुष्टि भएर सोही नगरपालिकास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण भएका जडीबुटीको प्रयोग गर्न सुझाव दिएको छ ।

विभागले गुडुची चुर्ण ५ ग्राम आधा लिटर पानीमा पकाएर, असुराको पात र बेसार एक लिटर पानीमा पकाएर, सुठो, मरिच, पिप्ला दुई ग्राम र पाँच तुलसी पात एक लिटर पानीमा पकाएर, तेजपात र दालचिनी दुई ग्राम आधा लिटर पानीमा पकाएर नियमित प्रयोग गर्न सुझाव दिएको छ । शुक्लागण्डकीका चार क्वारेन्टिनमा रहेकालाई आयुर्वेद औषधिको मात्रा मिलाएर सेवन गर्न दिइने खैरेनीटार आयुर्वेद औषाधालयका प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया