क्वारेन्टिनमै जन्मिए दुई शिशु

राष्ट्रिय समाचार समिति

डोटी, २३ जेठ: भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।

फाइल फोटो

यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बस्नुभएकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उहाँ बस्नुभएको क्वारेन्टिनमा ७४ जना छन् । “आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु”, वडाध्यक्ष खड्काले भन्नुभयो, “आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ ।”

त्यसैगरी शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टिनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माउनु भएको हो । उहाँ भारतको मुम्बइबाट जेठ १५ गते श्रीमान्सँगै घर फर्किएर क्वारेन्टिन बस्दै आउनु भएको हो ।

पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिनुभएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो । अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया