खरिपाटी क्वारेन्टाइनका ९४ को रिपोर्ट नेगेटिभः १५ सयको परीक्षण, ११३ को उपचार

राष्ट्रिय समाचार समिति

भक्तपुर, २३ चैत :स्थानीय खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

यही चैत २१ गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित मुलुकबाट आएका ९४ जनाको थ्रोट स्वाब संकलन गरेको थियो । त्यसको रिपोर्ट आज आएको र सबैको कोरोना नेगेटिभ रहेको उहाँले जानकारी दिनुभयो ।

यही चैत ८ गते संयुक्त अरब इमिरेट्स, कतारलगायत देशबाट फर्किएकामध्ये थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट खरीपाटीस्थित क्वारेन्टाइन पु¥याइएको थियो भने त्यसपछि विदेशबाट फर्किएका थप नागरिकलाई पनि त्यहीँ राखिएको थियो ।


खरीपाटीको क्वारेन्टाइनका तीन भवनमा २० महिला र ७४ पुरुष राखिएको थियो । स्वाब परीक्षणको नतिजा नेगेटिभ आएकाले क्वारेन्टाइनमा रहेकाहरुलाई आजै घर पठाइएको छ । यसअघि चीनको वुहानबाट उद्धार गरिएका १७५ विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको र रिपोर्ट सामान्य आएपछि घर पठाइएको थियो ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले आजसम्म कूल एक हजार ५२९ जनाको कोरोना परीक्षण भएको जानकारी दिनुभयो । उहाँले परीक्षण भएकामध्ये नौ जनामा कोरोना पुष्टि भएको र अन्य ११३ जनाको आइसोलेशनमा उपचार भइरहेको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरेर ११३ जनाको आइसोलेशनमा उपचार भइरहेको उहाँले बताउनु थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुसहित अहिले देशभरका सात स्थानमा कोरोना परीक्षण शुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर धरान, पोखरा, जनकपुर, वीरेन्द्रनगर, हेटौंँडा र धनगढीमा परीक्षण भइरहेको छ । देवकोटाका अनुसार बुटवलमा सोमबारदेखि परीक्षण शुरु हुनेछ भने चितवनमा आजैदेखि परीक्षण भएको छ । चितवनमा परीक्षण शुरु भएपछि उत्पत्यका बाहिर सात ठाउँमा जाँच शुरु भएको हो ।

प्रतिक्रिया