खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्छु : पर्यटनमन्त्री भट्टराई

राष्ट्रिय समाचार समिति

खलङ्गा, २८ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जुम्लाको सिञ्जा गाउँपालिकामा निर्माण हुन लागेको खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतसहितको टोलीसँग काठमाडौँमा उहाँले सङ्ग्रहालय निर्माणका लागि आर्थिक अख्तियारी छिट्टै पठाइ दिने बचन दिनुभएको हो । उहाँले खस सभ्यता संरक्षणका लागि भए पनि सिञ्जा सङ्ग्रहालय आवश्यक भएको बताउनुभयो ।



सो टोलीले पर्यटन मन्त्रालयमै पुगेर खस सङ्ग्रहालय भवनको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेको थियो । पर्यटनमन्त्री भट्टराईले तीन तहको सरकारसँग समन्वय गरेर बृहत् सङ्ग्रहालय निर्माण गर्न सुझाव दिनुभयो ।केन्द्र सरकारले यो वर्ष रु एक करोड विनियोजन गरेको जानकारी दिँदै मन्त्री भट्टराईले बजेटको भरपुर सदुपयोग गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “काम गुणस्तरको गर्नुस्, अपुग रकम थपौँला ।”

सङ्ग्रहालय रारा, फोक्सुण्डोलाई केन्द्रविन्दु बनाइ निर्माण गर्न थालिएको छ । यसभित्र संस्कृति, इतिहास, परम्परागत औजार र मूर्ति राखिनेछ । सङ्ग्रहालयका लागि स्थानीयले चार हजार वर्गमिटर जग्गा उपलब्ध गराएका छन् ।

सङ्ग्रहालयभित्र स्याउ बगैँचा, मष्टदेवताको मन्दिर, पर्यटनमैत्री शौचालय, परम्परागत पञ्चदेवल, अत्याधुनिक हल र भित्रै सिँचाइ नहरको डीपीआर बनेको छ । डीपीआरमा सङ्ग्रहालयको आफ्नै गजुर राखिनेछ । पर्यटकीय सांस्कृतिक धरोहर बन्नेमा दुई मत नरहेको सांसद महतले बताउनुभयो । रु १३ करोड ८९ लाख २५ हजार ४०३ सङ्ग्रहालय बन्ने भएको हो ।

प्रतिक्रिया