झापामा खुल्यो ‘कपडा बैंक’: गरीबलाई सित्तैमा

राष्ट्रिय समाचार समिति

भद्रपुर, ६ भदौ: लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ ।

सामाजिक कल्याणकारी सोच राखेर झापामा यस्ता ‘कपडा बैंक’ यसै साता तीन ठाउँमा सञ्चालनमा आएका छन् । विर्तामोड, दमक र भद्रपुर नगरपालिकामा खुलेका यी बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ ।

सामाजिक सेवामा क्रियाशील रोटरी क्लब, लायन्स क्लबलगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । भद्रपुरमा तीन दिनअघि र दमकमा एक सातादेखि खुलेको यस्तो नौलो बैंकमा कपडा छानीछानी लैजान खासगरी मजदूर वर्गका व्यक्ति धेरै सङ्ख्यामा झुम्मिने गरेका छन् ।‘कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टुलगायतका तयारी कपडा राखिएको छ । सित्तैमा पाइने ती कपडा लिन गरीब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् ।

‘सहयोगको हात बढाऔँ, खुशी बाँड्न सिकाऔँ’ भन्दै भद्रपुरमा बुधबारदेखि ‘कपडा बैंक’ सञ्चालन गरिएको रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकालले बताउनुभयो । “किनेर लुगा लगाउने जसको आर्थिक अवस्था छैन, उहाँहरुको कल्याण गर्नका लागि अभियानकै रुपमा यस्तो बैंक खोलेका हौं”,रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष ढकालले भन्नुभयो ।

भद्रपुर–५ स्थित दुर्गा मन्दिर अगाडि बजारकै छेउमा एउटा कोठालाई ‘कपडा बैंक’ बनाइएको छ । त्यहाँ गएर गरीब व्यक्तिले छानीछानी लत्ताकपडा लैजान पाउने सुविधा छ । कपडा लैजाने व्यक्तिले आफ्नो परिचय भने टिपाउनुपर्नेछ । रोट्र्याक्ट क्लब अफ भद्रपुरले अभियानमा साथ दिएको छ । भद्रपुरको ‘कपडा बैंक’ सातामा दुई दिन अर्थात प्रत्येक बुधबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुल्ने र एक व्यक्तिले एक जोर कपडा लैजान पाउने नियम बनाइएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

‘कपडा बैंक’मा नयाँ र पुराना, सुकिला र सफा लुगा राखिने गरेका छन् । महिला उद्यमी सङ्घ झापाका अध्यक्ष गोमा भट्टराईका अनुसार व्यापारीका गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर ‘कपडा बैंक’मा ल्याउने गरिएको छ । घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा थुपार्ने गरिएको छ ।

विर्तामोडमा देवी पञ्चकन्या मर्निङ वाक ग्रुप, रोटरी क्लब अफ बिर्तामोड र महिला उद्यमी सङ्घ झापाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको हो । बिर्तामोडका व्यवसायी सुरेशकुमार बंशलले ‘कपडा बैंक’ सञ्चालनका लागि एउटा कोठा निःशुल्क उपलब्ध गराउनु भएको महिला उद्यमी सङ्घ झापाका अध्यक्ष भट्टराईले बताउनुभयो ।

सामाजिक कल्याणको यस अभियानमा जोडिएका सङ्घ संस्थाले घरमा प्रयोग नभएका र गोदाममा मौसम सकिएर थन्किएका कपडा उपलब्ध गराइदिन सर्वसाधारण तथा व्यापारीलाई सार्वजनिक आह्वान गरेका छन् । विर्तामोडमा सोमबार बाहेक साताको ६ दिन ‘कपडा बैंक’बाट गरीब तथा असहायलाई कपडा वितरण गरिने व्यवस्था मिलाइएको छ ।

कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइने गरिएको छ । दमकमा लायन्स क्लब अफ दमकले जिल्लामा नै पहिलोपटक गत साउन २२ गतेदेखि ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको हो । दमकस्थित पूर्व बसपार्कमा रहेको ‘कपडा बैंक’मा ज्येष्ठ नागरिकसमेत कपडा लिन आउने गरेको क्बलका अध्यक्ष सन्दीप बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया